
प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड बीचको डर्बी खेल बराबरीमा सकिएको छ। गएराती भएको खेलमा 'म्यानचेष्टर डर्बी' मा सिटी र युनाइटेडले गोलरहित बराबरी खेल्दै १/१ अंक बाँडेका छन्।
सिटीको घरेल मैदान एतिहाड स्टेडियममा भएको खेलमा युनाइटेडका माराउने फेलाइनीले ८४औं मिनेटमा सिधै रातो कार्डको सामना गरे। त्यसपछि दश खेलाडीमा झरेको युनाइटेड विरुद्ध सीटीले फाइदा उठाउन सकेन।
सर्जियो अगुएरोलाई टाउकोले हानेर लडाएपछि रेफ्री मार्टिन एट्किनसनले फेलाइनीलाई सिधै रातो कार्ड देखाएका हुन्।
युनाइटेडका म्यानेजर जोसे माउरिन्हो र सिटीका प्रशिक्षक पेप ग्वार्डिओला दुवैले बराबरीपछि सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।
सिटीसँग बराबरी खेलेसँगै लिगमा युनाइटेडको अपराजित यात्रा २४ पुगेको छ।
यता बराबरीपछि दुवै टोलीले अंक तालिकामा तेस्रो स्थानको लिभरपुलाई पछि पार्ने मौका गुमाएको छ। ३३ खेलबाट ६५ अंक जोडेको सिटी अंक तालिकामा चौथो स्थानमा यथावत छ। यस्तै समान खेलबाट ६४ अंक रहेको युनाइटेड पाँचौमा कायम छ। ३४ खेलबाट ६६ अंक झोडेको लिभरपुल तेस्रो स्थानमा छ।
३३ खेलबाट ७८ अंकका साथ चेल्सी पहिलो तथा ७४ अंकका साथ टोटनहम दोस्रो स्थानमा छ।