
काठमाडौं: नयाँ वर्षको तेस्रो हप्ता पनि कुनै नेपाली फिल्म प्रदर्शनमा आएनन्। पहिलो हप्ता तीन फिल्म राधे, घामपानी र लभ लभ लभ एकसाथ पर्दामा उत्रिएका थिए। तर दोस्रो हप्तासम्म यिनै फिल्मको प्रदर्शन चलिरहेको थियो र हलमा कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन्। तेस्रो हप्तामा प्रवेश गर्नु अघिसम्म पनि सिंगल स्क्रिनमा राधे र मल्टिप्लेक्सका केही पर्दामा लभ लभ लभ र घामपानी प्रदर्शनरत थिए।
यो हप्ता पनि कुनै नेपाली फिल्म रिलिज नभएकाले यिनै फिल्मको शो आउट नहुने देखिन्थ्यो तर त्यस्तो भएन। किनकी काठमाडौंका अधिकांश हलहरुमा सबै शो बाहुबली २ ले ओगट्यो। जसका कारण लभ लभ लभ र घामपानी दुबै काठमाडौंका मल्टिप्लेक्सबाट बाहिरिए।
बलिउड तर्फ पनि बहुप्रतिक्षित बाहुबली: द कनक्लुजनको मात्र शोलो रिलिज भएको हो। एसएस राजामौली निर्देशित फिल्मले सिंगल तथा मल्टिप्लेक्स दुबैमा शो पाएको छ। बहुप्रतिक्षित बलिउड फिल्म बाहुबली द कन्क्लुसन आजबाट रिलिज भएको छ। सन् २०१५ मा रिलिज भएको बाहुबली द बिगिनिङको दोस्रो भागको रुपमा बनाइएको फिल्म बलिउडमा अहिलेसम्मकै सबैभन्दा महँगोमा बनेको फिल्म हो।
फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का सेट्टी, तमन्ना लगायतको अभिनय छ। नेपालका १३० हलमा एकसाथ रिलिज भएको फिल्मकै कारण अन्य बलिउडदेखि अन्य फिल्म इन्डस्ट्रीका फिल्म बिस्थापित भएका हुन्। बाहुबली द कनक्लुजनको असर नेपाली मात्र नभएर केही साता अघि प्रदर्शनमा आएका हलिउड फिल्मको शोमा पनि परेको देखिनेछ।
हलिउडका तर्फ पनि नेपालका लागि यो हप्ता कुनै नयाँ फिल्म रिलिज भएनन्। काठमाडौंको मल्टिप्लेक्सहरुमा प्रदर्शनरत फिल्म 'द बोस बेबी'ले नै यो हप्ता पनि केही हलमा शो पाएको छ। कमेडी जानराको फिल्मलाई टम म्याक ग्राथले निर्देशन गरेका हुन्। एनिमेटेड फिल्मा एलेक हाल्डविन, माइल्स क्रिस्टोफोर, स्टिभ बससेमी, जिम्मी किमेल लगायतको अभिनय रहेको छ।