
आइपीएल अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७ रनले पराजित गरेको छ। सिजनको सातौँ जितपछि कोलकताले दोस्रो स्थानको मुम्बईमाथि २ अंकको स्पष्ट अग्रता समेत बनाएको छ। ९ खेलबाट कोलकताको १४ अंक भएको छ।
कप्तान गौतम गम्भिर र रोविन उथापा ब्याटिङ तथा नाथल कल्टर नाइल बिलङमा मा चम्केपछि कोलकताले १६१ रनको लक्ष्य १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। गम्भिर र उथापाले अर्धशतक बनाए भने कल्टर नाइलले ३ विकेट लिए।
दिल्ली विरुद्ध नटआउट ७१ रन बनाउँदै गम्भिरले आइपीएलमा ४ हजार रन समेत पूरा गरेका छन्। ५२ बल खेल्दै गम्भिरले ११ चौका प्रहार गरे।
दोस्रो ओभरमै सुनिल नारिनलाई ४ रन गुमाएनि गम्भिर र उथापाले दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गर्दै कोलकताको जितको आधार बनाएका थिए।
उथापाले ३३ बल खेल्दै ५ चौका र ४ छक्कोको मद्दतमा ५९ रन बनाए। यस्तै यस सिजन पहिलो खेल खेलेका विकेटकिपर सेल्डन ज्याक्सनले ५ बलमा नटआउट १२ रन बनाए। बलिङमा खगिसो रबाडाले २ विकेट लिए।
त्यसअघि घरेलु मैदान एडेन गार्डेनमा कप्तान गौतम गम्भिर टस जित्दै दिल्लीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए।
दिल्लीले ओपनर सन्जु सामसनको अर्धशतकको मद्दतमा पूरे २० ओभर खेल्दै ५ विकेट गुमाएर १६० रन बनाएको थियो। सामसनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६० रन बनाए। यस्तै श्रेयस अएरले ४७ रन बनाए।
कोलकताका नाथन कल्टर नाइलले ३ तथा उमेश यादव र सुनिल नारिनले १-१ विकेट लिए।
४ हजार रन पुरा गर्ने गम्भिर तेस्रो खेलाडी
आइपीएलमा ४ हजार रन पूरा गर्नै गम्भिर तेस्रो खेलाडी समेत बनेका छन्। उनले १४१ खेलबाट ४ हजार १० रन बनाएका हुन्।
यसअघि भारतकै सुरेश रैना र विराट कोहलीले उक्त सफलता हात पारिसकेका छन्। रैनाले १५५ खेलमा ४ हजार ४०७ तथा कोहलीले १४४ खेलमा ४ हजार २ सय ७४ रन बनाएका छन्।
यस्तै गम्भिरले सबै खाले टी-२० क्रिकेट करियरमा ६ हजार रन पुरा गरेका छन्। गम्भिरले २२९ टी-२० खेल्दै ६ हजार २३ रन बनाएका हुन्। उनले टी-२० इन्टरनेशनल खेलमा ९३२ रन बनाएका छन्।
गम्भिर टी-२० क्रिकेटमा ६ हजार रन पूरा गर्नै १३औं खेलाडी हुन्। यसअघि भारतबाट रैना र कोहलीसँगै रोहित शर्माले पनि उक्त सफलता हात पारेका छन्। टी-२० मा सर्वाधिक (१००८९) रन बनाउने रेकर्ड भने वेष्ट इन्डिजका क्रिस गेलको नाममा छ।