PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कवि अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक



पहिलोपोस्ट

कवि अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

काठमाडौं : कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काव्य ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ। अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक गरेका थिए।

प्राज्ञ मुकारुङले भने, ‘हाम्रो पुस्ताले कविता लेख्न प्रारम्भ गर्दा तत्कालीन ठूलो स्कुलमध्येको एउटा दिनेश दाई पनि हुनुहुन्थ्यो,’ अधिकारीको पुस्तक यसरी ग्रहण गर्दाको सुखद् अप्ठेरोपना व्यक्त गर्दै थपे, ‘उहाँहरु मध्येमा पनि गद्य कविताको मामलामा दिनेश अधिकारीको नाम सबैभन्दा अगाडि आउँछ।’

अधिकारीको पुस्तक यात्रा २०३७ सालमा ‘अन्तरका छिटाहरु’ कवितासंग्रहबाट सुरुभएको थियो। त्यसयता उनका दर्जनभन्दा बढी कवितासंग्रह र त्यति नै संख्यामा गीति संग्रह निस्किसकेका छन्। प्रस्तुत कृति भने २०५१ सालमा उनलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा’ पछिको दोश्रो काव्य हो।

नारायणगोपालले गाएका ‘यो सम्झिने मन छ’ बोलको गीतबाट कार्यक्रमको प्रारम्भ गरिएको थियो। पछिल्लो समय ‘ठमेल बजार’ गीतबाट चर्चामा आएकी गायिका मीनाले उक्त गीत गाएर सुनाएकी थिइन्।

अधिकारीद्वारा लिखित गीतहरु प्रस्तुत गर्ने कार्यक्रमको पहिलो भागको अन्त्य भने ‘पहाडमा जाडो बढे, तराइले सेक्नु पर्छ’ बाट गरिएको थियो।


दोश्रो भागमा काव्य विमोचन गरिसकेपछि अधिकारीले केही कविताहरु वाचन गरेका थिए।

‘मेरा कविताहरु मेरा मनका पखेटाहरु हुन्,’ त्यस क्रममा अधिकारीले भने, ‘व्यक्तिगत कामले व्यस्त हुँदाहुँदै पनि मैले थाम्न नसकेका मेरा अभिब्यक्तिहरु अहिले यो भरियाको भूगोल सम्म आइपुगेको छ।’


पलेँटीका प्रस्तोता एवं गायक तथा संगीतकार आभाष कार्यक्रमको तेश्रो भागमा मञ्चमा आएका थिए। पछिल्लो समय कविताहरुलाई गीतमा रुपान्तर गर्दै आएका आभाषले अधिकारीको भर्खर विमोचित ‘भरियाको भूगोल’ कै केही अंशलाई संगीतबद्ध गरेर सुनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell