
काठमाडौँ: साहित्यमा अक्षर काका उपनामले चिनिने पत्रकार रामनाथ खनालको पहिलो उपन्यास ‘देउती' सार्वजनिक भएको छ। शनिबार पत्रकार एवंम् लेखक नारायण वाग्ले, समीक्षक गुरुङ सुशान्त र लेखक खनालले संयुक्त रुपमा किताब अनावरण गरेका हुन्।
किताब लोकार्पण कार्यक्रममा किताबमाथि सुशान्त गुरुङ र नारायण वाग्लेले अन्तर संवादसमेत गरे। किताबबारे बोल्दै लेखका एवं पत्रकार नारायण वाग्लेले भने, 'यो भातिजले लेखेको काकाको उमेरको कथा हो। यसमा हामीले देख्दै आएको महिला दिदी बहिनीको दु:ख छ।'
अक्षर काकाले शिवपुरी–इन्द्रावती परिवेशको सामाजिक मनोदशा र महिलाहरुको अवस्था चित्रण गर्ने प्रयास गरेको बताए। भने,'यो हाम्रै दिदी आमा बहिनीबाट प्रभावित भएर लेखिएको कथा हो। कथा बियोगान्त छ। फेरि-फेरि यस्तै कथा लेख्न नपरोस्।' उपन्यास तत्कालीन समयमा एकल महिलाले भोग्नुपरेको दुःख र पीडाको प्रतिबिम्ब भएको उनको दाबी छ।
देउती अनावरणको अवसरमा नारायण वाग्ले र सुशान्त गुरुङले ‘आख्यानमा इतिहास लेखन’ माथिसमेत अन्तर्क्रिया गरे। सांग्रिला बुक्सले बजारमा ल्याएको उपन्यास २४३ पृष्ठको छ।
पुस्तकबारे समीक्षक गुरुङ सुशान्त भन्छन्,'देउतीले परम्परागत विश्वास पद्धतिको झल्को दिएको छ।'