संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानको एक सैनिक शिविरमा एक साताअघि भएको हिंसात्मक हमलाको निन्दा गरेको छ। अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफमा भएको हमलामा परी १३५ सैनिक जवानको ज्यान गएको थियो।
राजधानी काबुलमा भएको आक्रमणमा परी ५० जनाभन्दा बढी नागरिकको ज्यान गएको केही समयपछि तालिवानहरुले सैनिक शिविरमा हमला गरेका छन्। हमलाको निन्दा गर्दै परिषद्ले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।
संयुक्त राष्ट्रसंघको १५ सदस्यीय उक्त परिषद्ले एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो। परिषद्ले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो मानवीय अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ।
सो आक्रमण तालिवानले गरेको हो। उक्त हमला सो क्षेत्रमा गरिएको यो तीन वर्षयताको तेस्रो पटक हो।
केही महिनामात्र अघि तालिवानहरुले अफगानिस्तानको सर्वोच्च अदालतमा हमला गरेका थिए। ती हमलाकारीले सर्वोच्च अदालतको परिसरमा नै न्यायाधीशहरुलाई लक्ष्य गरेर हमला गरेका थिए।
अफगानिस्तानमा हुने यस्ता मानवताविरोधी हमलाहरुका मुख्य दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र कारबाही गर्न पनि परिषद्ले आग्रह गरेको छ। अफगानिस्तानमा पछिल्लो समयमा तालिवानहरुले फेरि यस्ता आतङ्ककारी हमलालाई तीब्रता दिन थालेका छन्। तर पनि त्यहाँ शान्ति स्थापना र शान्ति वार्ताका विषयमा कुनै पहल भने भएका छैनन्। रासस/सिन्ह्वा