
दिनेश खड्का
काठमाडौं : काठमाडौं महानगरपालिकाले विदेशमा जस्तै फ्रेमिङ गरेर लोकेसन म्याप र सडक साइन बोर्ड राख्ने भएको छ।
महानगरले तीन सय स्थानमा लोकेसन म्याप राख्न लागेको हो। सार्वजनिक निजी अवधारणामा यो लोकेसन म्याप राख्ने महानगरका कार्यकारी प्रमुख र्इश्वरराज पौडेलले जानकारी दिए। यो लोकेशन म्यापले विदेशी पर्यटकलार्इ घुम्न सहज हुन्छ।
अहिले महानगरभित्र स्पस्ट रुपमा लोकेशन म्याप नहुँदा पर्यटक अलमलमा पर्ने गरेका छन्। विदेशी मात्रै होइन आन्तरिक पर्यटकलार्इ समेत लोकेशन म्यापको अभावले सास्ती हुने गरेको छ। विदेशमा लोकेशन म्यापकै आधारमा सहज रुपमा यात्रा गर्न मिल्छ। महानगरभित्र पनि कतिपय विजुलीको पोल र बोर्ड भए पनि प्रभावकारी छैन। लोकेसन म्यापमा वरिपरिका धार्मिक, ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत र विशेष महत्व भएका ठाउँहरुका जानकारी समेटिने उनले बताए।
विकसित देशमा ठूला फ्रेमसहितका लोकेसन म्याप र सडक साइन बोर्ड निश्चित दुरीमा राखिएको हुन्छ। महानगरका सडक तथा यात्रुको चाप बढी हुने व्यस्त सडकहरुमा लोकेसन म्याप र सडक साइन बोर्ड राखिनेछ।
त्रिपुरेश्वर, थापाथली, दरबारमार्ग, पुतलीसडक, तिनकुने, गौशाला, महाराजगञ्ज, रिङरोड, ठमेल क्षेत्रमा लोकेसन म्याप पहिलो चरणमा राखिने छ।
कति लाग्छ?
सार्वजनिक निजी साझेदारी अवधारणाबाट अघि बढ्ने योजनामा महानगरपालिका रहेको छ। विज्ञापन राख्न मिल्नेगरी लोकेशन म्याप बनाइनेछ। यो विज्ञापनबापत महानगरले निश्चित रकम लिनेछ।
यो लोकेशन म्याप राख्न ६० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। महानगरले सार्वजनिक सूचना जारी गरेर इच्छुक फर्मलार्इ ठेक्का दिनेगरी कार्यविधि बनाइरहेको छ। छ महिनाभित्रमा यो योजना कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाएको पौडेलले बताए।