
संयुक्त राष्ट्रसङ्घः संयुक्त राष्ट्रसङ्घले युद्धरत दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक विद्रोहको बाटो त्याग्न आग्रह गरेको छ। त्यहाँको युद्धरत पक्षलाई युद्धको बाटो त्यागेर शान्ति वार्ताको बाटो समात्न आग्रह गरेको हो।
विश्वको सबैभन्दा कान्छो देशका रुपमा परिचित देश स्वतन्त्र भएसँगै सुरु भएको सशस्त्र हिंसाका कारण नागरिकमा विभिन्न खालका समस्या उत्पन्न हुँदै गएकोले त्यसतर्फ गम्भीर हुन आग्रह गरिएको समाचारमा जनाइएको छ।
सरकारले पछिल्लो समयमा यहाँको हिंसा अन्त्यका लागि भन्दै आक्रामक कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। आक्रामक कारबाहीका कारण पनि यहाँको पछिल्लो अवस्था निकै नै नाजुक भएको छ । जसका कारण यहाँका नागरिकमा आधारभूत आवश्यकताको पनि कमी हुँदै गएको बताइएको छ।
हिंसाले सुडानमा निकै नै सत्रुतापूर्ण कार्य बढ्नुका साथै नागरिकका आधारभूत आवश्यताको पूर्तीको आधार पनि बन्न सकिरहेको छैन ।
संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले भनेका छन्, दक्षिण सुडानको अवस्था निकै नै नाजुक बन्दै गएकोले युद्धरत पक्ष र विद्रोही दुवै पक्षलाई हिंसाको अन्त्यगरी युद्धविरामका माध्यमबाट शान्तिपूर्ण समाधानको बाटो खोज्न हामी हार्दिक आग्रह गर्दछौँ।
सुडानमा जारी हिंसाका कारण पछिल्लो समय कैयौँ नागरिकको ज्यान गइसकेको छ । त्यहाँको हिंसा अझै पनि रोकिएको छैन । यसअघि भएका पटक पटकका शान्ति वार्ताहरुको परिणाम सकारात्मक आउन नसकेपछि यसरी हिंसा भड्किएको हो। रासस/सिन्हवा