PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

महाभियोग दर्तापछि दलहरुमा तरङ्ग, आकस्मिक बैठकदेखि कानुनी परामर्शसम्म



पहिलोपोस्ट

महाभियोग दर्तापछि दलहरुमा तरङ्ग, आकस्मिक बैठकदेखि कानुनी परामर्शसम्म

काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएसँगै राजनीतिक तरंग बढेको छ। फेरिएको राजनीतिक पृष्ठभूमिमा राजनीतिक दलहरु आन्तरिक परामर्शमा व्यस्त भएका छन्। 

महाभियोगको अगुवाइ गरेको नेपाली कांग्रेसले आइतबार नै महाभियोगबारे आकस्मिक छलफल गरेको छ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाभियोगबारे ब्रिफिङ गर्न सोमबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बोलाइएको छ।

यस्तै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजे बस्ने बैठकले पार्टी सरकारबाट फिर्ता हुनेबारे औपचारिक निर्णय गर्ने तयारी गरेको छ। महाभियोग प्रक्रियाबारे पार्टी अध्यक्ष कमल थापाले आइतबार नै असन्तुष्टि जनाइसकेका छन्।

संविधान संशोधनको विषयमा समेत पार्टीमा असन्तुष्टि बढेपछि राप्रपा अप्ठ्यारोमा परेको छ। संशोधन विधेयकको पक्षमा संसदीय दलले जारी गरेको ह्विप ८ सांसद्हरुले उल्लघन गर्ने निश्चित गरेपछि पार्टी विवाद चुलिएको छ।


कानुन व्यवसायीसँग एमालेको परामर्श

महाभियोग प्रस्ताव दर्तापछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कानुन व्यवसायीसँग परामर्श गरेको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ कानुन व्यवसायीसँग एमालेले परामर्श गरेको हो। 

पूर्वसभामुख सुवास नेम्वाङसहितको उक्त छलफलमा नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्व उपाध्यक्ष टीकाराम भट्टराईसहित अधिवक्ताहरु बिजयकान्त मैनाली, रमेश बडाल, गोविन्द बन्दीलगायतका कानुन व्यवसायी संलग्न थिए। महाभियोगपछिको कानुनी प्रक्रियाबारे छलफल भएको हो। 

एमालेले २ बजे पार्टी स्थायी कमिटीको बैठक राखेको छ । घोषणपत्र सार्वजनिक कार्यक्रम लगत्तै स्याथी समिति बोलाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell