रत्ननगर : शुक्लाफाँटाबाट ल्याइएको थप तीनवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ।
यसअघि यही वैशाख १५ गते दुई वटा पोथी बाह्रसिङ्गे छाडिएकामा आजसम्म एक भालेसहित थप तीनवटा गरी पाँच वटा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएको पाँचवटा बाह्रसिङ्गेलाई चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पुरानो पदमपुरमा छाडिएको जनाइएको छ।
बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ।
सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा पाँच भालेसहित २५ वटा बाह्रसिङ्गे ल्याइनेछ। निकुञ्जमा पहिलोपटक यसरी बाह्रसिङ्गे ल्याइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्।
निश्चित क्षेत्रमा विशेष प्रकारको जाल (खाबर) बिच्छ्याएर जालमा पारेपछि लठ्याउने औषधि दिएर बाह्रसिङ्गे नियन्त्रणमा लिइन्छ। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल प्रजाति संरक्षणका लागि यसरी स्थानान्तरण गरिएको बताउँछन्।
यसअघि चितवनबाट विभिन्न क्षेत्रमा गैँडा स्थानान्तरण गरिएको थियो भने अघिल्लो वर्ष कोसीबाट चितवनमा अर्ना स्थानान्तरण गरिएको छ। निकुञ्जभित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना राखिएको छ। सोही क्षेत्रमा ल्याएर बाह्रसिङ्गे छाडिएको हो।
यहाँ नभएका जनावर बाह्रसिङ्गे र अर्ना ल्याइएपछि संरक्षणसँगै पर्यटन विकासमा समेत सहयोग पुग्ने सौराहाका पर्यटन व्यवसायी प्रकाशचन्द्र भट्टराई बताउँछन्। रासस