
खोटाङः अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन्।
अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति ३५ हजार रुपैयाँका दरले घुस लिने नायब सुब्बा केदारनाथ खनाल पक्राउ परेका हुन्।
अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ । खनालले आवेदकबाट आफूले घुस लिएको स्वीकार गर्दै तत्काल सावाब्याज फिर्ता दिने बताएका छन्।
पक्राउ परेका खनालका बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले जानकारी दिए।
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेबको अस्थायी करार कोटा खुलाएको थियो। नासु खनालले घुस लिएका व्यक्ति कोही पनि नपरेपछि उक्त विषय बाहिर आएको थियो। तीस वर्ष लामो अवधिसम्म सेवा गरेका खनाल यसै वर्ष अधिकृतको बढुवा लाइनमा रहेका थिए। रासस