म्याग्दीः म्याग्दीको बेनीदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की पुल निर्माण कार्य सुरु भएको छ।
दानाको घट्टेखोला, मुस्ताङको घाँसास्थित खहरेखोला, मार्फाको स्याङखोला र कागबेनी खोलामा पक्की पुल निर्माण सुरु भएको गरिएको हो। यी स्थानमा पक्की पुल नहुँदा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुने गरेको थियो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गतका पुल निर्माण कार्य सडक डिभिजन कार्यालय बाग्लुङले ठेक्का प्रक्रिया अघि बढाएको थियो। चार वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग २४ करोड ८८ हजार तीन सय दुई रुपैयाँमा ठेक्का सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका लेखा अधिकृत कर्णबहादुर बोहोराले जानकारी दिए।
चारवटै पुल निर्माणका लागि सम्झौता गरेका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन्। दानाको घट्टे खोलामा फेवा नयाँबाटो जेभीले पाँच करोड ७६ लाख ८० हजार ५५६ र घाँसाको खहरेखोला सिरुवा कन्ट्रक्सनले पाँच करोड ९२ लाख २९ हजार १०५ मा ठेक्का सम्झौता गरेका छन्।
यसैगरी मार्फाको स्याङखोलाको ११५ मिटर लामो पुल निर्माणका लागि मुक्तिनाथ श्रीगीता जेभीले नौ करोड ५१ लाख १९ हजार १३७ र कागबेनी खोलाको पुल बनाउन गभाला रफिना जेभी काठमाडौले दुई करोड ८८ लाख ५१ हजार ५०४ मा ठेक्का सम्झौता गरेका छन्। चारवटै पुल २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य छ।
बेनीदेखि कोरला नाकालाई जोड्ने १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि सडक विभागले बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरेको छ। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्र र ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।
बेनी–जोमसोमखण्डमा सात वटा बेलिब्रिज छन् भने जोमसोम कोरलाखण्डका खोलामा पुल नहुँदा मौसमी रुपमा यातायातका साधन सञ्चालन हुने गरेका छन्। रासस