काठमाडौं: पहिलो चरणको निर्वाचनको मनोनयन सुरु हुन २२ घण्टा अघि प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादबले अब पनि निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरेका छन्।
निर्वाचन आयोगमा संचारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले उम्मेदवारलाई मनोनयन दर्ता गर्न र मतदातालाई गाउँ जान आग्रह गरे। उनले भने, ‘उम्मेदवार मनोनयन दर्ता गर्न र मतदाता मतदानका लागि गाउँ जानुस्, अनि मतदाता नामावलीमा नाम छुट भएकाहरु निर्वाचनको माहौल बनाउन गाउँ जानुस्।’ उनले भोलि प्रदेश नम्बर तीन, चार र ६ मा मनोनयन दर्ता हुने र बेलुकी आयोगले उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताए।
आइतबार सर्वोच्च अदालतकी प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दलका सांसदहरुबाट आएको अप्रत्याशित महाअभियोग प्रस्तावसँगै अनिश्चित बनेको ३१ वैशाखको स्थानीय चुनाव भाँडिने आशंकालाई चिर्ने प्रयास प्रमुख निर्वाचन आयुक्त यादवले गरेका हुन्।
प्रमुख आयुक्त यादवजस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर घोषित स्थानीय चुनाव पूर्वनिर्धारित कार्यक्रम अनुसार नै हुने जानकारी गराएको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जनाएका छन्।