काठमाडौं: फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री पूजा शर्माको जन्मदिनको अवसरमा फिल्म 'म यस्तो गीत गाउँछु'को गीत सार्वजनिक भएको छ। आइतबार जन्मोत्सवसँगै गीत सार्वजनिक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले गीतको भिडियो रिलिज गरेको हो।
कार्यक्रममा 'भन्छु आज' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरियो र पूजा शर्माले आफ्नो २३ औं जन्मदिनको केक काटिन्।
सार्वजनिक गीतमा फिल्मका निर्देशक सुदर्शन थापाको शब्द रहेको छ। थापाको शब्दलाई संगीतबद्द गरेका छन् अर्जुन पोखरेलले। सुगम पोखरेल र अन्जु पन्तले गाएको गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन्। भिडियोमै मुख्य दुई कलाकार पूजा शर्मा र पल शाहको फिचरिङ रहेको छ।
असार ३० बाट प्रदर्शनमा आउन लागेको फिल्ममा सरोज खनाल, रुपा राणा, सोभित बस्नेत लगायतको पनि अभिनय रहेको छ। संदय लामाले खिचेको फिल्मलाई प्रितम पोखरेलले सम्पादन गरेका हुन्। जन्मदिनमा फिल्म युनिटले पूजालाई शुभकामना व्यक्त गरे। संगीतकार अर्जुन पोखरेल र नायक पल शाहले उनको लागि गीत समेत गाए।
हेर्नुस् गीतको भिडियो: