PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महाभियोग प्रस्ताव भोलि नै फिर्ता लिइयोस् : ओली



सविन ढकाल

महाभियोग प्रस्ताव भोलि नै फिर्ता लिइयोस् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव फिर्ता लिन सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन्।

पार्टीको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै ओलीले भने, ‘प्रधानन्यायाधीय कार्कीलाई बदनाम गराउने काम भयो, यो बदनियतपूर्ण छ। यो हामीलाई मान्य हुँदैन। सरकार नचाहिने बाटोमा हिँडेर तनाव ल्यायो। यो न्यायालयमाथिको ठाडो हस्तक्षेप हो।’ ग्राण्ड डिजाइनमा शक्ति केन्द्र धाउँदै हिँडेका देउवा र प्रचण्डलाई सर्वोच्चको आदेशले झोँक चलेको उनको भनाई थियो।

'सत्तारुढले ल्याएको महाभियोग पास हुँदैन र यो पास गराउने मनसायले ल्याइएको पनि होइन', ओलीले भने, 'बिदा बस्न चार दिन बाँकी रहेकी प्रधान न्यायाधीशलाई मंगलबारको डिआइजी नवराज सिलवालको मुद्दा टुङ्ग्याउन सरकारले यो रणनीति चालेको हो।'

उनले सुशीला कार्की भलाद्मी र बेस्ट मान्छे भएको बताए। 'कुनै पक्षमा फैसला आएन भन्दैमा यस किसिमको कदम चाल्नु उचित होइन', उनको भनाई थियो। सर्वोच्चले दुई चार जना आफ्ना मान्छे पक्राउ गर्न आदेश दिएको, सरकारले भनेको नमान्दा र अदालत सरकारको नियन्त्रणमा नरहेको कारणले कांग्रेस सभापति देउवलाई पिर परेको बताए। 

ओलीले सरकारका मानिसहरु नै किर्तेको अभियोगमा फस्ने डरले आत्तिएर महाभियोगको निर्णयमा पुगेको आरोप लगाए।

प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार महाभियोग प्रस्ताव संसद्‍मा दर्ता भएको थियो। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेसका २ सय ४९ सांसदहरुले संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell