काठमाडौं: संघीय समाजवादी फोरमले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव स्वतन्त्र न्यायालयमाथिको ठाडो हस्तक्षेप भएको बताएको छ।
फोरम अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी कांग्रेस र माओवादीले व्यवस्थापिका संसद्मा दर्ता गराएका महाअभियोग प्रस्ताव संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला मात्र नभई लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यता विपरीत भएको बताएका हुन्।
उनले सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि राजकीय सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन्।