PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

महाभियोगले निर्वाचनमा असर गर्ने हो कि? यस्तो छ प्रचण्डको जवाफ



पहिलोपोस्ट

महाभियोगले निर्वाचनमा असर गर्ने हो कि? यस्तो छ प्रचण्डको जवाफ
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रधान न्यायाधीश सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक तरङ्गले निर्वाचनमा असर पर्ने हो कि भन्ने प्रश्न उठेको बताएका छन्।

आफ्नै निवास लाजिम्पाटमा सिन्धुपाल्चोका कांग्रेस र एमालेका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आफैँ प्रश्नको जवाफ समेत दिए। यद्यपी उनले अहिले केहि जटिलता र चुनौती भने देखापरेको उल्लेख गर्दै निर्वाचनले ती सबै जटिलता र चुनौती चिर्ने दावी गरे। उनले मंगलबार निर्वाचनका लागि मनोनयन दर्तापछि देश निर्वाचन तर्फ अगाडी बढ्ने र सबै समस्या समाधान हुने बताए।

'महाभियोगले निर्वाचनमा असर गर्ने हो कि? भन्ने प्रश्न उठेको छ', प्रधानमन्त्री प्रचण्डले प्रश्न उप्काउँदै जवाफ समेत दिए।
 

'त्यस्तो केही पनि हुदैँन। संसदीय प्रक्रियामा महाभियोग अगाडि बढ्छ। दलहरु र निर्वाचन आयोग र सरकार आफ्नै प्रक्रियामा जान्छ। सरकार आफ्नै तयारीमा छ। सम्पूर्ण तागत सहित निर्वाचनमा होमिन म सबैलाई आग्रह गर्दछु। कुनै भ्रममा नरहोस् भोलीको मनोनयलाई राम्रोसँग सम्पन्न गर्न स्वच्छ रुपमा प्रतिष्पर्धा गरेर ३१ गतेको निर्वाचन सम्पन्न गर्न म विशेष अपिल गर्दछु।'

उनले महाभियोग दर्तापछिको अवस्थाबारे आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेको समेत बताए। उनले अब राजनीतिमा अस्वभाविक घटनाक्रम नहुने आफ्नो विश्वास रहेको बताए।

'अस्वभाविक घटनाक्रम हुनेछैन भन्ने मलाइ विश्वास छ', प्रचण्डले भने, 'संशोधन पारित गरेर जाने र मोर्चा र गठबन्धनको सहमति लिएर निर्वाचनमा जाने पुरै प्रयास सरकारले गरिरहेको छ।'

उनले मधेसी मोर्चा पनि निर्वाचनमा सहभागि हुने बताए। अनेक प्राविधिक कारणले संशोधन विधेयक संसदबाट २१ गते अगाडि नबढेको उनको भनाई थियो।

प्रचण्डले निर्वाचनका लागि जिल्ला, नगर र गाँउपलिकामा जान कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell