PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

नयाँ शक्तिको राजनीतिक मूल्याङ्कन : कांग्रेस शासक दल, एमाले युरो कम्युनिजम भाग–२, माओवादी प्रतिक्रान्तिकारी



पहिलोपोस्ट

नयाँ शक्तिको राजनीतिक मूल्याङ्कन : कांग्रेस शासक दल, एमाले युरो कम्युनिजम भाग–२, माओवादी प्रतिक्रान्तिकारी

काठमाडौं : माओवादी केन्द्रसँग छुटेर गठन भएको नयाँ शक्ति पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। 'नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र'  नाम दिएर सार्वजनिक गरेको घोषणापत्रमा उसले नयाँ पुराना शक्ति र नयाँ शक्तिको अन्तर्सङ्घर्षबाट नै विकास सम्भव हुने भन्दै दलहरुप्रतिका आफ्ना दृष्टिकोण सार्वजनिक गरेको छ। 

नयाँ शक्तिले नेपाली कांग्रेस इतिहासमा सकारात्मक भूमिका खेलेको पार्टी भन्दै अहिले शासन व्यवस्था परिवर्तन गर्न नदिने शक्तिका रुपमा मूल्याङ्कन गरेको छ। '२००७ सालको राणाशाहीविरुद्धको संघर्ष र २०४६ सालको पञ्चायती निरङ्कुशता विरोधी आन्दोलनमा यो पार्टीले सकारात्मक भूमिका नै निभाएको थियो,'  नयाँ शक्तिले भनेको छ, 'देशमा शासकीय स्वरुप परिवर्तन गर्न नदिने, विकृत संसदीय प्रणालीलाई कायमै राख्ने, जनताको सार्वभौमसत्तामा आधारित प्रत्यक्ष लोकतन्त्र अभ्यास गर्न बाधा सिर्जना गर्ने मुख्य दल पनि यही हो।'

नयाँ शक्तिले  करिब ३ दशक मुख्य शासक पार्टीका रुपमा रहेर पनि कांग्रेसले आर्थिक क्रान्तिमा टेवा पुर्‍याउन नसकेको आरोप लगाएको छ। 'अहिले यो दल चरम अकर्मण्यतामा फसेको छ' घोषणापत्रमा भनिएको छ।

उसले एमालेलाई कम्युनिष्ट पार्टी नै नभएको आरोप लगाएको छ। 'दोस्रो दल नेकपा (एमाले) ले आफूलाई अझै पनि ‘कम्युनिष्ट’ भन्ने गर्दछ जबकी उसको सिद्धान्त,  नीति तथा कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ प्रकारान्तरले ‘युरो कम्युनिज्म’कै अर्को संस्करण हो,' नयाँ शक्तिले भनेको छ, 'व्यवहारमा भने यो दलले ‘सामाजिक फाँसीवादी’ कार्यदिशा अवलम्बन गर्न थालेको छ।

देशका सीमान्तकृत समुदायका आन्दोलनहरुलाई समेटेर बलियो राष्ट्रिय एकता निर्माण गर्नुपर्नेमा उल्टै त्यस्ता आन्दोलन र समुदायलाई लाञ्छित गर्ने, पहाड–मधेसबीचको मनोवैज्ञानिक विभाजनलाई गहिरो पार्ने, जहिल्यै प्रतिक्रियात्मक राजनीति गर्ने र देशलाई संकटमा पारिरहने काम यो दलले गरिरहेको छ।' उसले एमाले कर्मचारीतन्त्रमा पकड जमाउने तर भ्रष्टाचार हटाउन र सार्वजनिक सेवाहरुको गुणस्तर सुधार गर्न कुनै प्रयास नगर्ने वेथितिमा एमाले फसेको आरोप लगाएको छ।

नयाँ शक्तिले आफ्नै पुरानो दल माओवादी केन्द्रलाई भने प्रतिक्रान्तिकारी भनेको छ। 'माओवादी केन्द्र रातारात क्रान्तिकारीबाट प्रतिक्रान्तिकारी रुपान्तरण गरेको शक्तिका रुपमा देखिएको छ,' माओवादी केन्द्रलाई नयाँ शक्तिले भनेको छ, 'सत्तालिप्साका लागि यावत् कुकर्महरु गर्ने, अपारदर्शी धन र भ्रष्टाचारमा लिप्त हुँदै जाने, संविधान संशोधनमार्फत देशलाई राजनीतिक निकास दिन दृढतापूर्वक उभिन नसक्ने, बाहिर-बाहिर राष्ट्रवादको कुरा गर्ने भित्रभित्रै विदेशी शक्तिकेन्द्रको कृपा र आशिर्वाद प्राप्त गर्न लम्पसार पर्ने गरिरहेको छ।'

उसले माओवादी केन्द्रलाई जालझेल र षड्यन्त्रमार्फत् शक्तिमा टिकिहरन खोज्ने, देशका क्रान्तिकारी शक्तिहरुमाथि अनेक प्रकारले षड्यन्त्र र दमन गर्ने, राज्यका संस्थागत प्रक्रियाहरुलाई समाप्त पारी जताततै अराजकतालाई प्रश्रय दिनेजस्ता काममा संलग्न रहेको समेत आरोप लगाएको छ।

नयाँ शक्तिले चौथो दल राप्रपाका विषयमा पनि टिप्पणी गर्दै प्रगतिशील नयाँ पुस्ताको खासै अपेक्षा पनि नभएकाले चर्चा गर्नलायक पार्टी नै नरहेको बताएको छ। 'सत्ता राजनीतिमा ‘जता मल्खु, उतै ढल्कु’ गर्ने यो दल जतिवटा सत्तासमीकरण बने पनि, भत्किए पनि सदाबहार सत्तासाझेदारजस्तो बन्ने गरेको छ,' उसले भनेको छ, 'संसदीय प्रणालीभित्र राजनीतिक अस्थिरता बढाउने, सत्तागठबन्धनभित्र दवाव बनाएर आफ्ना पश्चगामी अपेक्षाहरुको परिपोषण गर्न यो दल उद्यत देखिन्छ।'

नयाँ शक्तिले मधेसी दलहरुलाई क्षेत्रीय दल भन्दै भर्खरै मधेसकेन्द्रित दलहरुको केही समूह मिलेर 'राष्ट्रिय जनता पार्टी' बनेको उल्लेख गरेको छ। 'नेपालका क्षेत्रीय दलहरुले विभिन्न क्षेत्रका सीमान्तकृत समुदायको आवाजलाई महत्वका साथ उठाए पनि समग्र राष्ट्रको भावनालाई आत्मसात गर्न सकिरहेका छैनन्,'  नयाँ शक्तिले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell