काठमाडौँ : नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ५३ बुँदै घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले घोषणापत्रमा 'समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्म एमाले सरकार', भन्ने नारा दिएको छ।
घोषणापत्रमा एमालेले पछिल्लोपटक आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनका बेला बजेटमा घोषणा गरिएका कामहरुको विषय समेटेको छ। त्यस्तै संविधान निर्माणमा नेतृत्वदायी भूमिकादेखि चीनसँग बढाएको समझदारीको विषयसमेत उल्लेख गरिएको छ। यस्ता छन् घोषणापत्रका केही महत्वपूर्ण विषय -
- आगामी १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने छ। कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाइने छ। कोशी नदीमा अध्ययन गरिएका बहुृउद्देश्यीय परियोजना, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिङ्गाड, नौमुरे र बुढीगण्डकी परियोजनाहरू यथाशीघ्र सम्पन्न गर्ने गरी कार्य गरिने छ।
- घर–घरमा बिजुलीः जन–जनमा शेयर नीति लागू गर्दै लगानी र प्रतिफलका दृष्टिले आकर्षक जलविद्युत परियोजनाहरूमा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गरिने छ। त्यस्ता आयोजनाहरूमा स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न पाउने व्यवस्था गरिनेछ।
- पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गरिने छ। रसुवागढी– काठमाडौं–पोखरा– लुम्बिनी रेलमार्ग सम्पन्न गरिनेछ। काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरिने छ। यसबाहेक अन्य सीमा नाकाबाट रेलमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण योजना अगाडि बढाइने छ। राजधानी काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गरिने छ। राजधानीसँग जोडिएका जिल्लाहरूमा रेल सेवा विस्तारको सम्भाव्यता अध्ययन गरी रेल सेवा विस्तार योजना शुरु गरिने छ। यसबाट आर्थिक क्रियाकलापमा बृद्धि भई जनताको जीवनस्तरमा ठूलो उन्नति र परिवर्तन हुनेछ।
- मुस्ताङमा युरेनियम उत्खनन तथा प्रशोधन केन्द्र स्थापना गरिने छ । दैलेखलगायतका स्थानमा पेट्रोलियम र नवलपरासीमा रहेको फलाम खानीको थप अन्वेषण गरी उपयोग गरिने छ ।
- नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामति कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीहरूले प्रयोग गर्ने कपडा, जुत्ता, बुट उत्पादन गर्ने उद्योगहरू स्थापना गर्न विशेष सहुलियतका साथ प्रोत्साहन दिइने छ ।
- प्रत्येक तहका केन्द्र र वडामा न्यूनतम एक बैंकको शाखा खोलिने छ । प्रत्येक परिवारलाई शून्य मौजदातमा निःशुल्क बैंक खाता खोल्ने व्यवस्था मिलाइने छ । ५ वर्ष पछि सम्पूर्ण आर्थिक कारोबार नगदबिहीन बैंकिङ्ग प्रणालीमा लैजाने गरी योजना शुरु गरिने छ ।

- नेकपा(एमाले) को सरकार बनेको दोश्रो वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघा नगर घोषणा गरिनेछ। उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमूनाका नगरका रूपमा विकसित गर्ने गुरुयोजना निर्माण गरिने छ।
- काठमाडौँ उपत्यकालगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, मेलम्चीसमेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गरिने छ।
- हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैय्याका सुविधासम्पन्न अस्पताल सञ्चालन गरिने छ । प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण, प्रविधि र स्वास्थ्यकर्मी सहितका स्वास्थ्य चौकी र टोलहरूमा समेत खोप सेवा, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व एवम् बाल तथा शिशु स्वास्थ्य सेवाहरू सञ्चालन गरिने छ।
- सामाजिक सुरक्षा भत्तालाई मासिक ५ हजार पुर्याइने छ।
- सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिइने छ। कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी विदा दिइने छ।
- दलित समुदायका परम्परागत पेशा, कला र सीपको संरक्षण, सम्बर्द्धन गर्दै तिनको आधुनिकीकरण र व्यावसायिकीकरण गरिने छ। त्यसका लागि ७ वटै प्रदेशमा ‘भगत सर्वजित शिल्प विकास तथा उद्योग केन्द्र’ स्थापना गरिने छ।