काठमाडौँ: भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गरे।
भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो जिप, पाँच वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटरसाइकल र सात वटा स्कुटर उपलब्ध गराएको हो।
नेपाल–भारतबीच सहयोग आदानप्रदानको एउटा कडीको रुपमा पछिल्लो सहयोग उपलब्ध गराइएको भारतीय राजदूतावासले जनाएको छ।
सो अवसरमा राजदूत पुरीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोगले गरिरहेको बृहत् तयारीप्रति बधाई दिदैं नेपालको सामाजिक र आर्थिक रुपान्तरण तथा शान्ति र स्थायित्वका लागि भारत सधैं सहयोग गर्न तत्पर रहेको बताए।रासस