PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

५४ दिनमा सरकार छाडे कमल थापाले



पहिलोपोस्ट

५४ दिनमा सरकार छाडे कमल थापाले

काठमाडौँ : राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री सहितको पोर्टफोलियमा सरकारमा सामेल भएको ५४ दिनपछि सरकारबाट बाहिरिएका छन्।

राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि थापा सरकारमा सामेल भएका थिए। राप्रपा भने त्यसअघि देखि नै सरकारमा थियो। २४ साउन २०७३ देखि राप्रपा सरकारमा थियो।

२०७३ फागुन २६ गते थापा सरकारमा सामेल भएका थिए। तर संविधान संशोधनको विवाद र सरकारमा सहभागिताको विवादका कारण राप्रपा सरकारबाट बाहिरिएको हो।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले प्रधान न्यायाधीश माथि लगाइएको महाभियोगमा असहमतिका कारण सरकार छाडेको बताए।

'सरकारबाट पनि फिर्ता, समर्थन पनि फिर्ता', श्रेष्ठले पहिलोपोस्ट सित भने, 'हामी संविधान संशोधनको पक्षमा रहनेछौँ।'

महाभियोगमा दुई तिहाइ नपुग्ने
प्रधान न्यायाधीश सुशीला कार्कीमाथि आइतबार सत्तारुढ कां‌ग्रेस र माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। राप्रपाको सरकारबाट बहिर्गमनसँगै महाभियोग पारितका लागि आवश्यक दुई तिहाई नपुग्ने भएको छ। 

राप्रपाले आफूलाई महाभियोगको विषयमा पूर्व जानकारी नभएको जनाएको छ। महाभियोगलाई नै कारण देखाउँदै कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार राजीनामा गरेका थिए।

थापाको राजीनामासँगै प्रचण्डलाई दोश्रो झट्का लागेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell