
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकारबाट बाहिरिने निर्णयसँगै सरकारमा दुई उपप्रधानमन्त्रीसहित पाँच मन्त्री खाली भएको छ।
राप्रपाले कार्यसम्पादन समितिबाट गरेको निर्णय अनुसार राप्रपाका एक उपप्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच मन्त्री सरबाट बाहिरिँदै छन्। अर्का उपप्रधानमन्त्रीले समेत हिजै राजीनामा दिइसकेका छ्न्।
राप्रपाको तर्फबाट उपप्रधामन्त्री र संघीय मामिला तथा स्थानीय विकास मन्त्री रहेका कमल थापा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी, आपूर्ति मन्त्री दिपक बोहरा, भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डे र पर्यटन राज्यमन्त्री परशुराम तामाङ भोली देखि सरकारमा हुने छैनन्।
यस अघि नै प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनमा दिइसकेका छन्। यससँगै सरकारको अहिलेको कोटामा मात्र दुई उपप्रधानसहित पाँच मन्त्री र एक राज्यमन्त्री पद खाली हुने भएको छ।
सरकारमा मन्त्री पद मात्र खाली भएको छैन, सरकारलाई संसद्मा बहुमत सिद्ध गर्नका लागि थप दलहरुको समर्थन पनि आवश्यक भएको छ। किन भने मधेसी मोर्चा आवद्ध सात दल र लोकतान्त्रिक फोरमसमेतले समर्थन फिर्ता लिए पछि राप्रपाको मतले नै सरकार बहुमतमा अडिएको थियो।
राप्रपाले सरकारालाई दिएको समर्थन फिर्ता लिँदै गर्दा सरकारलाई जोगाउनका लागि भने सहयोगीकै भूमिकामा देखिएको छ। किन भने संविधान संशोधन नभएका कारण सरकारलाई दिएको समर्थन फिर्तालिएका मधेसकेन्द्रित दलको समर्थन लिनका लागि सम्भावना जीवित राखिदिने काम राप्रपाले गरिदिएको छ।
राप्रपाले सरकारबाट बाहिरिँदा पनि विगतमा संविधानका लागि दिएको समर्थन फिर्ता नलिने र सरकारलाई दिएको समर्थन कायम रहने भएकाले संविधान संशोधन विधेयक पारित भएमा मधेसी दलको समर्थन फिर्ता हुने मात्र हैन सरकारमा नै मधेसी दलहरुको सहभागिता रहने सम्भावना जीवित गरिदएको छ।