काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भई निलम्वनमा परेपछि न्यायपालिकाको नेतृत्व आजदेखि कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्दैछन्। पराजुलीले आइतबार कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएको जानकारी सर्वोच्च प्रशासनले पाएसँगै कायम मुकाय प्रधानन्यायाधीशका रुपमा पदबहाली गरिसकेका छन्।
संविधानको धारा १२९(६) अनुसार प्रधानन्यायाधीश एक दिन बिदामा बसे पनि बरिष्ठतम न्यायाधीश स्वतः कामु हुने व्यवस्था छ। तर, पराजुलीले भने कर्मचारीको स्वागतसहित पदबहाली नै गरेका हुन्।
सर्वोच्च अदालतको आधिकारिक ‘वेवपेज’को मूल पृष्ठबाट प्रधानन्यायाधीश कार्कीको फोटा हटाइएको छ। उक्त स्थानमा कामु प्रधानन्यायाधीश पराजुलीको फोटो राखिएको छ। तर, न्यायाधीशको सूची रहेको पृष्ठमा भने कार्कीको फोटो यथावत नै छ। सोभन्दा मुनि पराजुलीलाई कामु प्रधानन्यायाधीशका रुपमा राखिएको छ।
पराजुली २०७१ जेठदेखि सर्वोच्चमा न्यायाधीशमा कार्यरत छन्। उनको उमेर विवादका कारण प्रधानन्यायाधीशको कार्यकालबारे अझै पनि विवाद छ। न्याय परिषदले पछिल्लो पटक अद्यावधिक गरेको जन्म मिति कायम भएमा पराजुलीको कार्यकाल अब करिव तीन महिना बाँकी छ।