PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

एकता घोषणाको १२ दिनपछि एकताबारे निर्णय गर्दै मधेसी दल



रमेश वाग्ले

एकता घोषणाको १२ दिनपछि एकताबारे निर्णय गर्दै मधेसी दल

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपाल घोषणाको १२ दिनपछि बल्ल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ६ दलले एकताका विषयमा आ–आफ्ना दलबाट निर्णय गर्न लागेका छन्। ६ दल एकीकरण भएको स्थान अमृत भोग पार्टी प्यालेसमा आज सबै दलका छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछन्। बैठकबाट एकीकरणको १२ दिनपछि एकीकरणबारे निर्णय हुँदैछ। 

‘सबै पार्टीबाट एकीकरण गर्ने निर्णय भइसकेपछि ‘राष्ट्रिय जनता पार्टी’को केन्द्रीय समिति बैठक पनि अमृत भोगमै बस्नेछ’, जनता दलका नेता लक्ष्मणलाल कर्णले भने। 

कर्णले राष्ट्रिय जनता दलको केन्द्रीय समितिको पहिलो बैठकको प्रमुख अजेण्डा पार्टीको सांगाठानिक ढाँचा र जिम्मेवारी बाँडफाँडबारे हुनेछ। 
अध्यक्षहरु अध्यक्ष मण्डलमा रहनेबाहेक कुनै सहमति नगरी ज्योतिषको साइतमा एकता घोषणा गरेका तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र नेपाल सदभावना पार्टी बल्ल एकीकरणको निर्णयमा जुटेका हुन्। पार्टी एकीकरण भएको १२ दिनसम्म एकीकृत पार्टीको केन्द्रीय कार्यालय कहाँ रहने र जिल्लास्थित पार्टी कार्यालयहरु कसरी प्रयोग गर्ने भन्ने पनि कुनै निर्णय भएको छैन।

अध्यक्ष मण्डलका सदस्यबाहेक दोस्रो, तेस्रो तहका नेताहरुको वरीयता के हुने, पद कसरी व्यवस्थापन गर्ने, जिल्लास्थित पार्टीका अध्यक्ष र पदाधिकारी ेव्यवस्थापन कसरी गर्ने लगायतका विषमा समेत अहिलेसम्म निर्णय भएका छैनन्।

‘कुन पदको व्यवस्थापन कसरी गर्ने, पार्टीलाई कस्तो संरचनामा संचालन गर्ने, चुनावको तयारी कसरी गर्ने र राष्ट्रिय मुद्धामा कसरी उपस्थिति जनाउने भन्ने विषयमा निर्णय गर्नकै लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो,’ नेता कर्णले भने।

उनले प्राथमिक विषय संगठन भएपनि समसामयिक राजनीतिबारे पनि बैठकमा छलफल हुने बताए। तर बैठकका लागि राजनीतिक एजेण्डा तय भने गरिएको छैन। 

राप्रपाको समर्थन फिर्तापछि अल्पमतमा पुग्न लागेको सरकारलाई सहयोग गर्नु हुन्छ त? भन्ने प्रश्नमा कर्णले भने, ‘यो सरकारलाई हामीले अप्ठेरोमा धकेलेका पनि हैनौँ र उद्धार गर्नु जरुरी पनि छैन, तर, संविधान संशोधन पास भयो भने सरकारका विषयमा हामी निर्णय गर्न सक्छौं।’ 
      
  
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell