
यस सिजनका महँगा खेलाडी बेन स्टोक्सले करियरकै पहिलो टि-२० शतक बनाएपछि राइजिङ पुने सुपर जायन्ट्सले आइपीएलमा गुजरात लायन्सलाई ५ विकेटले पराजित गरेको छ।
स्टोक्सले नटआउट १०३ रन बनाएपछि गुजरातले दिएको १६२ रनको लक्ष्य पुनेले १ बल बाँकी छदा ५ विकेट गुमाएर पुरा गर्यो।
यस सिजन पुनेको यो छैटौँ जित हो। जितपछि १० खेलबाट १२ अंक झोडेको पुने अंक तालिकामा चौथो स्थानमा कायमै छ र प्लेअफको सम्भावना कायमै राखेको छ। १० खेलबाट ६ अंक मात्र जोडेको गुजरात भने छैटौँ स्थानमा छ र प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ।
पुनेले गुजराताई हराएसँगै रोएल च्यालेन्जर्स बैंगलोर भने प्लेअफबाट बाहिरिएको छ।
कुनै समय १० रन हुँदा ३ विकेट गुमाएको पुने ५.३ ओभरमा ४२/४ को स्थितिमा थियो। तर पाँचौ नम्जरमा ब्याटिङ गरेको स्टोक्सले इनिङ्स सम्हाल्ने क्रममा महेन्द्र सिंह धोनीसँग पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गरे। धोनीले २६ रनको योगदान गरे।
त्यसपछि स्टोक्सले छैटौँ विकेटका लागि डान क्रिस्टियनसँग नटआउट ४९ रनको साझेदारी गर्दै पुनेलाई जिताए। ६३ बल खेलेका स्टोक्सले ७ चौका र ६ छक्का प्रहार गरे। पुनेको लागि पछिल्लो दुई खेलमा अनुपस्थित रहेको स्टोक्सले गुजरात विरुद्ध भने एकल प्रदर्शनमा जित दिलाए।
गुजरातका प्रदिप साङ्वान र बसिल थम्पलीले २-२ विकेट लिएपनि पुनेलाई जितबाट रोक्न सकेनन्।
त्यअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १ बल बाँकी छदै १६१ रनमा अलआउट भयो। गुजरातका लागि ब्रेण्डन म्याकुलमले सर्वाधिक ४५ तथा इशन किसनले ३१ र दिनेश कार्तिकले २९ रन बनाए।
बलिङमा पुनेका इमरान ताहिर र जयदेव उनादकाटले ३-३ विकेट लए।