.jpg)
पोखराः कास्कीका राजनीतिक दलले मनोनयनको अन्तिम दिन पार्टीको तर्फबाट उम्मेदवार घोषणा गरेका छन्। सोमबार दिउँसो पार्टीको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे, उपमेयरमा चन्द्रावती पौडेललाई उम्मेदवार सिफारिस गरेको कांग्रेसले रातारात उम्मेदवार परिवर्तन गरी पोखरा लेखनाथ महानगरको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ।
अन्तिम समयमा आएर कांग्रेसले प्रमुख प्रतिस्पर्धी देखिएको एमालेले उमेदवार घोषणा गरेपछि सिफारिस गरिएका उम्मेदवारलाई हटाएर रामजी कुँवर र गुरुङलाई उम्मेदवार बनाएको हो। चुनावी मिति नजिकिँदै जाँदा कांग्रेसमा मेयर र उपमेयरका आकांक्षीहरुको भीड नै लागेको थियो। उम्मेदवारका आकांक्षी बढेपछि उम्मेदवार चयन गर्न निकै कठिन भएको थियो। जिल्ला कार्य समितिले मेयरमा ३३ र उपमेयरमा १५ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको थियो। केन्द्रले सिफरिस गरिएका मध्येबाट कुँवर र गुरुङलाई उम्मेदवार तोकेको हो।
त्यसैगरी, नेकपा एमाले मेयरमा मानबहादुर जिसी र उपमेयरमा मन्जु गुरुङलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेको स्थायी समिति बैठकले जिसी र गुरुङलाई मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेमा पनि मेयर र उपमेयरका आकांक्षीको भीड लागेपछि पोखरा लेखनाथ महानगर समन्वय कमिटिका ४४२ सदस्यले मतदान गरी तीन जनाको नाम सिफरिस गरेका थिए। एमालेले यसअघि उम्मेदवार चयनमा सर्वसम्मत चयन गर्न नसक्दा आन्तरिक मतदानमार्फत उम्मेदवारको छनोट गरी नाम केन्द्रमा सिफारिस गरेको थियो।
मेयरमा ९ जनाको उम्मेदवारी परेपछि गरिएको आन्तरिक निर्वाचनमा जिसीले २ सय ४६ मत ल्याएका थिए भने कृष्ण थापाले २ सय २१ मत ल्याएपछि मेयरका लागि जिसी र थापासहित महिलामा मित्रकुमारी सुवेदीको नाम सिफारिस भएको थियो। त्यस्तै, उमेयरमा ६ जनाको उम्मेदवारी परेको थियो भने गुरुङले दोश्रो नम्वरमा मत पाएकी थिइन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रले मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ। सोमबार दिनभरि छलफल गर्दा पनि उम्मेदवार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार बिहानै उम्मेदवारको टुंगो लगाएको हो ।
लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन्। उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्षसमेत हुन्।
त्यसैगरी राप्रपाको तर्फबाट मेयर पदमा गीता गुरुङ्ग र उपमेयरमा रमेश खत्रीलाई उम्मेदवार बनाएको छ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खाती परियारलाई उम्मेदवार बनाएको छ। गुरुङ सञ्चारकर्मी हुन्। उनले विद्यार्थी राजनीति हुँदै १५ वर्षदेखि सञ्चार क्षेत्रमा आवद्ध छन्।