PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पर्साका सरकारी विद्यालय बन्द भएपछि विद्यार्थी मर्कामा



राधेश्याम पटेल

पर्साका सरकारी विद्यालय बन्द भएपछि विद्यार्थी मर्कामा

वीरगञ्ज : आन्तरिक प्रतिर्स्पधात्मक विज्ञापनको खारेजीको माग गर्दै अस्थायी शिक्षक संघर्ष समितिले आज पर्साका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गरेका छन्। बुधबार पनि विद्यालय बन्द गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ। 

शिक्षक पदपूर्तीका लागि शिक्षक सेवा आयोगले एक महिनाअघि गरेको आन्तरिक प्रतिर्स्पधात्मक विज्ञापनको खारेजीको माग गर्दै देशव्यापी रुपमा अस्थायी शिक्षकहरु आन्दोलित भएका हुन्। यसै क्रममा पर्साका विद्यालयहरु पनि बन्द गराइएको अस्थायी शिक्षक संघर्ष समिति पर्सा अध्यक्ष रामअध्योया शाहले बताए।

दुई वटा अस्थायी शिक्षकहरुको संघर्ष समिति मिलेर पर्साका विद्यालयहरुमा बन्द अह्वान गरेका हुन्। विज्ञापन खारेज नहुँदासम्म आन्दोलन नरोकिने अस्थायी शिक्षक संघर्ष समिति अध्यक्ष शाहले बताए। सरकार र नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुका बारेमा विगतमा गरेका विभिन्न सम्झौताहरुमा धोका दिएको शिक्षकहरुले टिप्पणी गरेका छन्।

पर्सामा हाल ३५० जना अस्थायी शिक्षकहरु छन् भने देशमा करिब ३२ हजारको हाराहारीमा अस्थायी शिक्षकहरुको तथ्याङ्क छ। अस्थायी शिक्षकहरुले अन्य सरकारी सेवामा एकचोटी जागिर खाएपछि प्रकृया पुर्‍याई स्थायी गर्ने चलन छ तर शिक्षा सेवामा भने त्यस्तो नियम छैन। '१५/२० वर्ष काम गरेको शिक्षकहरु कसरी नयाँ पाठक्रमको आधारमा परीक्षा दिन्छन् र पास हुन्छन्?', शिक्षकहरुको प्रश्न छ। सरकारले कुनै मध्यम विन्दु निकालेर समस्या समाधान गर्नु पर्ने उनीहरुले माग गरेका छन्।

यसरी शैक्षिक सत्र सुरु भएको वैशाखमै शिक्षकहरुले गरेको बन्दले यहाँको पठनपाठन प्रभावित भएको छ। विद्यार्थीहरु मर्कामा परेको अभिभावकहरुले गुनासो गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell