गौशालाः महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्लाका विभिन्न ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो।
स्थानीय तहको निर्वाचनमा फरार प्रतिवादीले अवाञ्छित गतिविधि गर्न सक्ने सम्भावना बढेकाले जिल्ला अदालतको आदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान चलाएको छ।
कुटपिट, जालसाजी, ठगी, चोरी, परीक्षामा अनियमित गतिविधिलगायत विभिन्न मुद्दामा फरार रहेकाहरुलाई पक्राउ गरिएकामा १८ जनासँग जरिवाना असुल र एक जनालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। रासस