
पोखराः कास्कीमा महानगरसहित चार वटा गाउँपालिकामा स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरुले बाजा, गाजा र्यालीसहित उमेदवारी दर्ता गरेका छन्।
मुख्य राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीहरुले ठूलो संख्यामा नेता,कार्यकर्ताको सहभागीतामा बाजागाजा र र्यालीसहित मनोनयन दर्ता गरेका हुन। कास्कीका ठूला दलहरु बाजागाजासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। कांग्रेसले मेयरका लागि रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ भने एमालेले मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको हो।
त्यस्तै, माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई मेयरमा र गोमा ढकाललाई उपमेयरमा उम्मेदवार बनाएको छ। त्यसैगरी, मेयरमा राप्रपाले गीता गुरुङ र उपमेयरमा रमेशबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, संघीय समाजवादी र नयाँ शक्तिले संयुक्त रुपमा मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खातीलाई उम्मेदवार बनाएको छ। अखण्ड नेपालबाट माती गिरी, नेकपा मालेबाट टेकनाथ भण्डारीले मेयरमा उम्मेदवार दिएका छन्।
कास्कीमा निर्वाचनमार्फत तीन सय ७० जना निर्वाचित हुनेछन्। एक प्रमुख, एक उपप्रमुख, ३३ जना वडाध्यक्ष, खुल्ला प्रत्येक वडाबाट २/२ जनाका दरले ६६ जना, प्रत्येक वडामा १/१ जना महिला र दलित महिला गरी ६६ जनासहित कुल १ सय ६७ जना निर्वाचित हुनेछन्।
कास्की जिल्लामा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका छन्। १ सय ५० स्थलमा २ सय ८८ मतदान केन्द्र रहेका छन्। कुल मतदाता मध्ये महिलाको संख्या १ लाख २० हजार २ सय ३० रहेको छ भने पुरुषको संख्या १ लाख ४ हजार ५ सय ७६ रहेको छ।