PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

काठमाडौंको मेयरमा थरी थरी दाबेदारी, को बन्ला महानगरको पिता?  



पहिलोपोस्ट

काठमाडौंको मेयरमा थरी थरी दाबेदारी, को बन्ला महानगरको पिता?  

काठमाडौं : साना/ठूला अधिकांश दलबाट स्थानीय उम्मेद्वारलाई प्राथमिकता। नेवार समुदायकै बाहुल्यतामा महानगरको मेयरमा सबै दलको दाबेदारी। सबैभन्दा कान्छी मेयर दावेदार रञ्जु दर्शना पनि काठमाडौंमा नै। ठूला दलका हेभीवेट र लोकप्रिय उम्मेद्वारदेखि कुस्तिवाज (रेस्लर) भरत विसुरालसम्मको उम्मेद्वारी। र, थरीथरीका स्वतन्त्र उम्मेद्वारको होडले पनि महानगरको मेयरको चुनावी दौडमा निकै रौनकता थपेको छ। 

देशको राजधानी शहर र देशभरकै जेठो महानगरपालिका भएका कारण मात्रै होइन, सेवा सुविधा तथा जनघनत्वका हिसाबले पनि काठमाडौं महानगरको भावि मेयर अर्थात् महानगर पिता को होला भन्नेमा जनता कौतुहल छन्। तर, मंगलबारको मनोनयनपछि सबै दलले महानगरको नयाँ सरकार प्रमुखमा स्थानीयबासिन्दालाई नै चयन गरेर सकेसम्म 'स्थानीय जनता मैत्री' हुन खोजेको सन्देश दिएका छन्। चुनावी मैदानमा उत्रेका उम्मेद्वारहरुको आधारमा नै भोलि को मेयर बन्ला भन्न सकिन्न। तर, उम्मेद्वारहरुको चयन भने निकै रोचक छ।

सबै जसो दलका नेवार नै उम्मेद्वार 

नेपाली कांग्रेसका राजुराज जोशी वा माओवादी केन्द्रका सर्वोत्तममान डंगोल, वा संघीय समाजवादी र नयाँ शक्तिका पवित्र बज्राचार्य स्थानीय रैथाने नेवार समुदायका उम्मेद्वार हुन। एमालेका विद्यासुन्दर शाक्य स्थानीय नै हुन्। बसाइका हिसाबले स्थानीय र जातिका हिसाबले सबै नेवार समुदायकै बढी दावेदार हुनु पनि महानगरका भावि मेयरको गज्जपको विशेषता हुन पुगेको छ। संघीय नेपालको पहिलो स्थानीय तह चुनावमा यसरी स्थानीय नेवार समुदायकै प्रतिनिधिले मेयर पदको उम्मेद्वारमा प्राथमिकता पाउनुले पनि महानगरको चुनावी दौडमा अर्को सकारात्मक प्रतिस्पर्धा थपेको छ। 

ठूला राजनीतिक दलहरु सधै महत्वपूर्ण पदमा जनजाति तथा स्थानीयलाई महत्व दिँदैनन् भन्ने आरोप महानगरको उम्मेद्वार चयनले खण्डन गरेको छ। ठूला पार्टी बाहुन/क्षेत्रीवादी भएका छन् भन्ने आम गुनासो पनि महानगरको यो उम्मेद्वारी शैलीले लगभग खण्डित भएको छ। 


कांग्रेसका राजुराज जोशी र हरिप्रभा खड्गी


संसदको मुख्य ठूलो दल कांग्रेसले काठमाडौंको मेयरमा स्थानीय र निकै लोकप्रिय मानिएका राजुराज जोशीलाई मेयरको दाबेदार बनाएको छ। उनी स्थानीय मात्रै होइनन् पार्टीभित्र कामकाजी नेताको छबी बनाएका र जानेमानेका नेता हुन्। वर्तमान सरकारका उद्योगमन्त्री नवीन्द्रराज जोशी मेयरका दाबेदार राजुराजका भाइ हुन्। यस्तै उपमेयरका दाबेदार हरिप्रभा खड्गी पनि रैथाने नै हुन्।

२०४६ सालको परिवर्तनपछि २०४९ मा सम्पन्न स्थानीय चुनावबाट पहिलो पट्क राजधानीको मेयर बनेका पिएल सिंहको जीतको इतिहास दोहोर्‍याउने चुनौती अब राजुराज जोशीलाई थपिएको छ। जोशीले जिते राजधानीको महानगरमा कांग्रेसको झण्डा झण्डै दुई दशकपछि फहराउने छ। किन भने २०५४ मा नेकपा एमालेले एकलौटीजसो जितेको महानगरमा त्यसयता कांग्रेसले स्थानीय सरकारको बागडोर सम्हाल्न पाएको छैन। २०५४ पछि स्थानीय चुनाव नै हुन नपाएका कारण महानगरको स्थानीय सरकारमा कांग्रेसको पुनर्दयका लागि राजुराजलाई मौका र चुनौती दुवै छ। किन भने संविधानसभाको चुनाव २०७० लाई आधार मान्ने हो भने काठमाडौंमा कांग्रेसको स्पष्ट बहुमत छ।


तालमेलमा एमालेका विद्यासुन्दर 


हाल संसदको मुख्य विपक्षी दल तथा काठमाडौंका हकमा यस अघिसम्पन्न २०५४ को स्थानीय चुनावमा भारी बहमतका साथ महानगरको मुख्य सत्तारुढ बनेको नेकपा एमालेले अन्ततः स्थानीय नेवार समुदायबाटै मेयरमा उम्मेद्वार बनायो। धेरै आकांक्षी र प्रदेश कमिटीले सिफारिश गरेका तीन दाबेदारहरु सावित्री भुसाल, जीवनराम श्रेष्ठ र विद्यासुन्दर शाक्य मध्ये अन्ततः विद्यासुन्दरले नै मेयरको टिकटमा बाजी मारे।

काठमाडौं जिल्ला पार्टी कमिटीका सचिव समेत रहेका शाक्य यस अघि एमालेकै २२ वडा कमिटीका वडाध्यक्ष रहेका थिए। उनी २०४९ र २०५४ का दुवै स्थानीय चुनावमा एमालेका तर्फबाट वडाध्यक्ष रहेका थिए। एमाले अध्यक्ष केपी ओलीको विशेष पहलमा शाक्यले मेयरमा टिकट पाएका हुन्। राप्रपासँगको चुनावी तालमेलका कारण एमालेले महानगरको उपमेयरमा भने उम्मेद्वारी दिएन। यो तालमेलमा राप्रपाका राजाराम श्रेष्ठ उपमेयरमा सीमित भएका छन्। राप्रपाबाट उनी मेयरका प्रत्यासित थिए। 


संघीय समाजवादी र नयाँ शक्तिका साझा बज्राचार्य 


केही समय अघिदेखि कार्यगत एकता गर्दै आएका र स्थानीय चुनावको मुखमा संयुक्त चुनाव चिन्ह मसालमा मार्फत् स्थानीय तह चुनाव लडिरहेका संघीय समाजवादी र नयाँ शक्तिले साझा उम्मेद्वार उठाएका छन्। संघीय समाजवादी र नयाँ शक्तिका मेयरका प्रत्यासी पवित्र वज्राचार्य नेवाःदबुका पूर्व महासचिव तथा वडा नं. २३ का पूर्व वडाध्यक्ष पनि हुन्। पंचायतकालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय वज्राचार्य २०४९ र २०५४ को स्थानीय चुनावमा एमालेबाट वडाध्यक्ष बनेका थिए। उनी अशोक राई र राजेन्द्र श्रेष्ठहरु एमाले छोडेर संघीय समाजवादी दलमा गएपछि त्यतै लागेका थिए। उनको उम्मेद्वारीले एमालेको मत घटाउन मद्धत जरुर गर्नेछ।

खुद्रा व्यापार संघ लगायत विभिन्न संघ संस्थामा उनको लामो संलग्नता रहेको छ। बज्राचार्य मन्दिरै मन्दिरको शहर भनिने काठमाडौं उपत्यकाको प्राचिन संस्कृति र इतिहासका जानकार पनि हुन्। सामाजिक सेवामा उनको गहिरो लगाव छ। नयाँ शक्तिको तर्फबाट उपमेयर बनेकी सविना अर्याल माओवादी केन्द्रकी पूर्व केन्द्रीय सदस्य हुन् भने उनले डा. बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा आफूलाई समाहित गरेकी हुन्।

विवेकशीलकी रञ्जु दर्शना एकमात्रै महिला दाबेदार 


सामाजिक संजालमा लोकप्रिय विवकेशील दलबाट काठमाडौंको मेयरमा युवा २१ वर्षीया रञ्जु दर्शना उठेकी छन्। काठमाडौंमा सम्भवत् कान्छी उम्मेद्वार र मेयरकी एकमात्रै महिला तथा युवा प्रत्यासी हुन्। राप्रपाबाट नायिका रेखा थापा प्रस्तावित उपमेयरकी उम्मेद्वार भनिए पनि उनले टिकट पाइनन्। 

साना र नयाँ दलहरुले काठमाडौंको मेयरमा उम्मेद्वारको घोषणा गर्न हतार गरेका कारण विवेकशील दलका तर्फबाट रञ्जुले निकै प्रचारको सुविधा पनि बटुलिन्। सामाजिक संजालहरुमा निकै प्रभावशाली प्रस्तुती दिँदै आएको युवाहरुको पार्टी विवेकशील नेपाली दलले पनि रञ्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उमेदवारको रुपमा चयन गरेको हो। 

अन्य ठूला दलले महिलालाई राजधानीको मेयरमा उठाउने हिम्मत नगरेका कारण प्रभावशाली महिला दाबेदार भने रन्जु नै हुन पुगेकी छन्। संघीय नेपालको महानगरको पहिलो महिला तथा युवा प्रत्यासीका रुपमा २१ वर्षकी रन्जुको सपना काठमाडौँलाई कसरी सुन्दर सहर बनाउने भन्ने छ। २१ वर्षीया रन्जु दर्शना दोस्रो संविधानसभाको निर्वाचनको दौरानमा विवेकशील नेपाली दलको बन्द विरोधी अभियानमा संलग्न हुँदै विवेकशील दलसँग जोडिन पुगेकी थिइन्। हाल विवेकशील नेपाली दलकी मिडिया विभाग प्रमुख तथा केन्द्रीय सदस्य रहेकी रन्जु दर्शना २०७२ को विनाशकारी भूकम्पपछिको राहत तथा उद्धारमा खटिएर तथा डा गोविन्द केसीको अनशन प्रकरणकी सहयोगीका रुपमा युवा माझ निकै चर्चित बनेकी युवा अनुहार हुन्। रन्जुको मेयरको दाबेदारीलाई राजनीतिप्रति वितृष्णा राख्ने युवा पुस्ताको राजनीतिक उभारका रुपमा पनि व्याख्या गर्ने गरिएको छ। 

साझाका किशोर र निरुपमा यादव


पूर्व पत्रकार रविन्द्र मिश्रको नयाँ दल साझा पार्टीले अघिल्लो हप्ता पूर्व सचिव किशोर थापालाई काठमाडौंको मेयरमा चुनाव उठाएको छ। किशोर थापा सरकारका पूर्व सचिव हुन भने वाग्मती सफाई अभियानमा पनि उनको लामो संलग्नता रहेको थियो। उनी निष्कलंक छबीका पूर्व प्रशासक पनि मानिन्छन्। साझाकी उपमेयर निरुपमा पेशाले अधिवक्ता तथा अधिकारकर्मी महिला हुन्।

माओवादीका तर्फबाट मेयरमा सर्वोत्तममान डंगोल र उपमेयरमा सुशीला पौडेल रहेका छन्। डंगोल माओवादी केन्द्रका पुराना र स्थानीय संगठक मानिन्छन्। जनमोर्चाले मेयरमा निर्मलकुमार थापा र उपमेयरमा ऋतु सापकोटा केसीलाई उम्मेदवार बनाएको छ। केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकी नातदेर पनि रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell