PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

उम्मेद्वारी दर्तासँगै कांग्रेस र एमालेका मेयर प्रत्यासीबीच 'वाकयुद्ध'



मनोज सत्याल

उम्मेद्वारी दर्तासँगै कांग्रेस र एमालेका मेयर प्रत्यासीबीच 'वाकयुद्ध'

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धामा उत्रिएका नेताहरुबीच मतदाता लोभ्याउने होड सुरु भएको छ। नामावली दर्ता गरेसँगै उम्मेद्वारहरुले आफ्ना योजना सार्वजनिक गर्न भ्याइहाले। योजनासँगै एक अर्कालाई आरोप र आक्रमण पनि थालीहाले उनीहरुले। 

उम्मेद्वारी दर्ताका लागि पुगेका कांग्रेसबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वार राजुराज जोशीले पाँच वर्ष भित्र काठमाडौँमा फ्री वाइफाइ दिने घोषणा गरे। 'पाँच वर्षपछि काठमाडौंमा कसैले पनि इन्टरनेटको पैसा तिर्नु पर्दैन,' उनले योजना सुनाउँदै भने, 'महानगरपालिकाका मानिसहरुलाई मेट्रोको मालिक बनाउने। मेट्रो चलाउने, फ्लाइओभर बनाउने।' 


उनले महानगरपालिकाको मेयरको सपथ लिए लगत्तै काठमाडौँमा धुलो रोक्न जतिसुकै रकम पनि खर्च गर्ने बताए। 

जोशीले नेकपा एमाले र राप्रपाको गठबन्धनबाट महानगरका उम्मेद्वार बनेका विद्यासुन्दर शाक्य र उपमेयरका उम्मेद्वार राजाराम श्रेष्ठ माथि 'च्यालेन्ज' पनि दिन भ्याइहाले। 

'महिलाविरोधी पार्टी निस्केछन्,' उनले भने, 'म महिला विरोधी पार्टीलाई महानगरबाट मुक्त पार्छु।'

कांग्रेसले काठमाडौँको उपमेयरमा हरिप्रभा खड्गीलाई उम्मेद्वार बनाएको छ। 

नेकपा एमालेले काठमाडौंबाट मेयरमा विद्यासुन्दर शाक्यको उम्मेद्वारी दिएको छ भने उपमेयरमा उम्मेद्वारी दिएको छैन। राप्रपाले उपमेयरमा राजाराम श्रेष्ठलाई उम्मेद्वार बनाउँदै मेयरमा शाक्यलाई समर्थन गरेको छ। एमालेले उपमेयरमा श्रेष्ठलाई समर्थन गरेको हो। 


एमाले उम्मेद्वार शाक्यले आफ्नो उम्मेद्वारी स्वच्छ, सुन्दर र समृद्ध काठमाडौँ बनाउन रहेको बताए। 'महानगरपालिकामा १५ वर्ष भयो जनप्रतिनिधि नभएको,  कर्मचारीको भरमा चलेको छ,' शाक्यले भने, 'काठमाडौँ सुन्दर भए पनि यहाँ व्यवस्थापनको समस्या छ। हामीले शान्त र जीवन्त शहर बनाउँछौँ।'

उनले एमालेलाई महिला विरोध भन्न नमिल्ने तर्क गर्दै मेयरमा मात्र आफ्नो पार्टीले उम्मेद्वारी दिएको बताए। 'हामीले राम्रो काम गर्न तालमेल गरेका हौँ,' उनले भने। 

पार्टीभित्र जीवनराम श्रेष्ठ र सावित्रा भुषालसँग मेयरका लागि प्रतिस्पर्धा गरेका शाक्य दुवैलाई लिएर मनोनयन दर्ताका लागि पुगेका थिए। उनले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा सामान्य भएको उल्लेख गर्दै समस्या नरहेको बताए।

राप्रपाका उपमेयर राजाराम श्रेष्ठले पनि कार्यगत एकता भएको उल्लेख गरे। उनले काठमाडौँलाई अन्तर्राष्ट्रिय स्तरको शहर बनाउने दावी गर्दै दलीय तालमेलले विकासमा समेत सहयोग गर्ने दावी गरे। 

माओवादीले काठमाडौँबाट मेयरमा सर्वोत्तम डंगोल र उपमेयरमा सुशीला पौडेललाई उठाएको छ।


त्यस्तै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले संयुक्त रुपमा उम्मेद्वार उठाएका छन्। मेयरमा संघीय समाजवादीका तर्फबाट पवित्र बज्रचार्य र उपमेयरमा नयाँ शक्तिकी सविना अर्याल प्रतिस्पर्धामा छिन्। 


त्यस्तै काठमाडौँको मेयरमा रवीन्द्र मिश्रको साझा पार्टीले किशोर थापा र उपमेयरमा निरुपमा यादवलाइ उठाएको छ। त्यस्तै विवकेशील दलबाट रञ्जु न्यौपाने(दर्शना) काठमाडौँको मेयरको उम्मेद्वार बनेकी छिन्।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell