ललितपुर : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकामा मेयरका लागि १७ जना र उपमेयरमा १३ जनाले उम्मेदवारी दिएका छन्।
मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय तोकेको थियो। मेयरका लागि ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट चीरबहादुर महर्जन, उपमेयरमा गीता सत्यालको उम्मेदवारी परेको छ। नेकपा एमालेले मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई र उपमेयरमा सुकुमाया लामालाई उम्मेदवार बनाएको हो।
नेकपा माओवादी केन्द्रले मेयरमा दिनेश महर्जन र उपमेयरमा हसिना शाक्यको उम्मेदवारी दिएको हो। अष्ट महर्जनलाई राप्रपाले मेयर र उप मेयरमा सजिना कार्कीलाई उम्मेदवार बनाएको छ। संघीय समाजवादी फोरम, नेपाल मजदूर किसान पार्टी, नयाँ शक्ति नेपाल, चुरेभावर लोकतान्त्रिक लगायतले मेयरका लागि उम्मेदवारी दिएका छन्।
ललितपुर महानगरपालिकामा २ सय ६५ मतदान केन्द्र र २९ वडा छन्। २ लाख १३ हजार ७३ मतदाता रहेका छन्।