
काठमाडौं : राजनीतिमा समय अनुसारका 'मुभ' गर्न नजाने जोगीको ताल पनि हुन सक्छ भन्ने जीवन्त उदाहरण हुन जारी स्थानीय तह चुनावको 'चुनावी खाल'का अतिरिक्त खेलाडी केशव स्थापित।
राजधानी काठमाडौंले राम्रैसँग चिनेका र यहीँको माटोमा खाइखेली गरेका स्थापित तीब्र इच्छाका बाबजुद् यसपटक मेयरको चुनावी खालबाट 'रिंग आउट' भएका छन्। काठमाडौं खाल्डोमा निर्वाचित र मनोनित मेयर भएर काठमाडौंको मुहार फेर्न निकै कसरत गरेका र महानगरबासीको हर बस्ती, धेरैजसो स्थानीय जनलाई राम्रैसँग दोहोरो चिनाजानी भएका केशव यसपटक पनि थिए मेयरका आकांक्षी।
तर, उनले मेयरमा टिकट नै पाएनन्। उनको राजनीतिक जीवनको सुरुवाती र पछिल्लो दल नेकपा एमालेले उनलाई यसपटक मेयरमा टिकट दिएन। मेयर बनेमा आफूले गर्ने कामहरुको लामो फेहरस्ती संचार माध्यम र सामाजिक संजालमा प्रचार गर्दै आएका मेयर प्रत्याशी स्थापितले साविकको दल एमालेबाट टिकट नपाउनुको कारण धेरै होलान, तर मुख्य रुपमा उनको दल चाहार्दै हिड्ने बानी नै हो।
२०७० को संविधानसभा चुनावमा उनले पार्टी सचिव योगश भट्टराईसँगै संघीय समाजवादी पार्टीका तर्फबाट चुनाव लडे। करिब २ हजार भोट मात्रै स्थापितले पाए, जबकि त्यति नै भोटको अन्तरमा योगेश संविधानसभा चुनावमा हारे। संघीय समाजवादीबाट चुनाव हारेपछि स्थापित एमालेमा नै फर्किए। एमालेमा जिम्मेवारीबिहीन नेता भएर पनि उनी एमालेकै गीत गाउँदै चुनावका लागि टिकट खोज्दै रहे। राजनीतिका सबै खेल र झेलमा पोख्त स्थापितले पार्टीको आधिकारिक टिकट पाउन खुबै मेहनेत गरे पनि।
तर, संगठित शक्तिमा बलियो एमालेको काठमाडौं नेतृत्वले उनलाई मेयरको दाबेदार सूचीमा नै अटाउनै दिएन। प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यले स्थापितलाई दाबेदारका रुपमा समेत सिफारिस नगरेर झट्का दिइन। स्थायी कमिटीले टुंग्याएको उम्मेद्वारी स्थापितका लागि सास छउन्जेल आश गर्ने मेलो थियो।
तर, जसै वैशाख १९ गते मनोनयन दर्ताको घडी आयो, स्थापितका लागि 'उडायो सपना सबै हुरीले‘ सरह हुन गयो। उनी एमालेको तर्फबाट मेयरका आकांक्षीमा परेनन्।
प्रदेश कमिटीले स्थापितलाई रिङ आउट गरे पनि पार्टी अध्यक्ष ओलीले अन्तिम समयसम्म स्थापितलाई टिकट दिने इच्छा देखाए। तर, माधव नेपाल समूहका दुई दाबेदार गौरी प्रधान र जीवनराम श्रेष्ठले समेत स्थापितको नाममा सहमति जनाएनन्।
मनोनयनको दिन दिउँसो ३ बजेसम्म पनि यही विवादका कारण मेयरको टुंगो लागेन। संसदीय दलको कार्यालयमा तीन प्रत्यासीलाई छलफलमा राखेर शीर्ष नेता करिव तीन घन्टा छलफलमा जुटे।
चुनावको मुखैमा काठमाडौँ कमिटीमा भएको विवादका कारण ओली नेपाल समूहलाई चिढ्याउन चाहदैनथे। तर, नेपाल समूहका दुबै उम्मेद्वारका प्रतिस्पर्धी एक अर्कालाई छाड्न तयार थिएनन्। दुइबीचको मतभेदमा नेपाल समूहका उम्मेद्वार जीवनरामले नै विद्यासुन्दर शाक्यको नाममा सहमति जनाए। र, एमालेले शाक्यलाई मेयरको टिकट पक्का गरिदियो।
केशव स्थापित आफैँमा काठमाडौंका सफल मेयर रहे। काठमाडौंमा आकाशे पुलको निर्माण होस की सडक बिस्तार, थुप्रै विकासे काम जनताले देखेका छन्। उनी एमालेको जुझारु युवा संगठन तत्कालीन प्ररायुसंघका संस्थापक केपी ओलीकालीन संगठक पनि हुन। प्ररायुसंघलाई आजको हलातमा ल्याउन मात्रै होइन उपत्यकामा एमालेको बलियो संगठन निर्माणका लागि निकै रगत, पसिना र आँशु, हाँसो मिसाएका स्थापितले पार्टीमा निरन्तरता नदिनु नै उनका लागि संघीय नेपालको काठमाडौं महानगरको मेयर हुन नपाउने अयोग्यता हुन पुग्यो। राजनीतिमा पार्टीले पत्याए मात्रै कोही योग्य र काविल हुन सक्छ होइन भने केशव स्थापितको हालत हुन सक्छ भन्ने मानक उदाहरण पनि उनले गुमाएको मेयरको अवसरले सिद्ध गरेको छ।
जमाना थियो, स्थापितले बोल्दा काठमाडौं चुप हुन्थ्यो। जमाना थियो उनले डोजर लिएर निस्कँदा बस्तीहरु सडक बन्थे, सडकहरुको मुहार फेरिन्थ्यो। तर त्यो स्थापित मात्रैको बलमा भएको थिएन भन्ने अहिले स्थापितले नपाएको टिकटले नै प्रमाणित गरेको छ।
२०४६ सालको जनआन्दोलनमा उपत्यकामा तत्कालीन संयुक्त बाम मोर्चा र कांग्रेसले पञ्चायत विरोधी आन्दोलन गर्दा उपत्यकामा निर्णायक नेतृत्वदायी भूमिका निभाएका स्थापितले नेपालमा राणा शासन विरोधी आन्दोलन गरेको दल प्रजा परिषद् आफ्नै नेतृत्वमा व्यूँताउने कोशिश पनि गरे। तर त्यसमा सफल भएनन्। नेकपा एमालेमा २०५६ मा आएको विभाजनसँगै बामदेव गौतम नेतृत्वको मालेमा लागे स्थापित। पछि बामदेव एमालेमा नै फर्के। केही समय स्वतन्त्र पनि भए उनी। त्यही बीचमा उनले तत्कालीन राजाद्वारा मनोनित प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यकालमा राजधानीको 'टिके मेयर'का रुपमा जिम्मेवारी सम्हाले। उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शक्तिशाली उपत्यका विकास प्राधिकरणको पनि नेतृत्व गरे। तर प्राधिकरणमा रहँदा उनले मेयरको जस्ता प्रभावशाली भूमिका निभाउन सकेनन्। २०५१ मा एमालेको नौ महिने शासनकालमा खेलकुद परिषदको सदस्य सचिवको भूमिका पनि निभाएका थिए। जन्मजातै काठमाडौंका रैथाने एमाले रहेका स्थापितले पार्टीमा निरन्तर आवद्ध नहुनुका कारणले नै आफूभन्दा जुनियर एमालेहरुका सामु पुनः मेयरको दाबेदार हुन बन्चित हुनुपर्यो।
अस्थिर राजनीतिक जीवनको ओराली उकालीहरुकै कारण महानगरको मेयर पुनः निर्वाचित हुने मनोकांक्षामा तुषारापात भएसँगै स्थापितको रंगीन राजनीतिक जीवनमा तेर्सिएको महत्वपूर्ण प्रश्न हो, के अब पनि स्थापित एमालेमा नै रहलान वा अन्य पार्टीमा फेरि बुकुर्सी मार्लानरु त्यो भने समयले नै बताउने छ। महानगरको नयाँ मेयर हुने स्थापितको अतृत्त तृष्णा पूरा नगर्ने माउ पार्टी एमालेमा अब स्थापित रहे पनि नरहे पनि उनले गर्ने समर्थनले भने भावी मेयरको हारजितमा देखिने गरी प्रभाव पार्ने नै छ।
तस्विर : नयाँ पत्रिका