PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

मोरङको उत्तरी भाग कागतीको पकेट क्षेत्र बन्दै



पहिलोपोस्ट

मोरङको उत्तरी भाग कागतीको पकेट क्षेत्र बन्दै

  • अनन्तराज न्यौपाने

विराटनगरः उत्तरी मोरङको पहाडी इलाकामा पर्ने पाटीगाउँका किसान कागती खेतीतर्फ आकर्षित भएका छन्। कोदो, मकैलगायतका खाद्यबालीमा भन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान कागती खेती गर्न थालेका हुन्।

पाटीगाउँका लोकबहादुर लिम्बु ६ वर्षदेखि कागती खेती गर्दै आएका छन् । कागती खेती गर्नुभन्दा अघि आफूले मकै, कोदो, अदुवालगायतका बालीको खेती गरेको तर, त्यसबाट सन्तोषजनक आम्दानी नभएपछि कागती खेतीतर्फ लागेको उनले बताएका छन्।


कागती खेतीमा अन्य बालीको जस्तो धेरै झन्झट गर्नु नपर्ने अनि बजारको पनि कुनै समस्या नभएको लिम्बु बताउँछन्।

उनले भने, ‘गाउँमा मकै, कोदो, धान लगाउँदा उत्पादन लिन छ महिना पर्खनुपर्छ । खेतबारीमा केही काम नहुँदा जाँड खायो, लाप्पा खेल्यो । बिग्रेको जिन्दगी गुजार्नु पर्ने । अहिले कागती खेतीबाट राम्रो आम्दानी हुँदैछ । कागती किन्न व्यापारीहरू बारीमै आउँछन् ।’

लिम्बुले दुई सय बोट कागती लगाएका छन् । गतवर्षदेखि कागती बिक्री सुरु गरेका उनले पहिलो वर्ष ५० हजार रुपैयाँ आम्दानी गरेका थिए। यसवर्ष थप पाँच सय बोट विस्तार गर्ने उनको योजना छ ।

मोरङमा कागतीको माग उच्च छ । वार्षिक दुई करोड रुपैयाँको कागती भारतबाट आउने गरेको छ । जिल्लामा उत्पादन भएको कागतीले १० प्रतिशत पनि माग धान्न धौधौ पर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।


मोरङमा अघिल्लो वर्ष एकसय ५० हेक्टर क्षेत्रफमा कागती खेती गरिएको थियो । जसबाट प्रतिहेक्टर तीन सय टन कागती उत्पादन भएको थियो । यसवर्ष भने एक सय ७० हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको कार्यालयले जनाएको छ।

जिल्ला कृषि विकास कार्यालयले पाटी गाउँलाई कागती खेतीका लागि पकेट क्षेत्र समेत घोषणा गरिसकेको छ । साथै छेउकै याङ्शिला र जाँतेलाई पनि कागतीको पकेट क्षेत्र बनाउने कार्यालयले जनाएको छ।

तीन वर्षे कार्यक्रमअन्तर्गत पकेट क्षेत्रका लागि यसवर्ष केराबारी, याङ्शिला र जाँते तीन गाउँमा ३० हेक्टर क्षेत्रफलमा कागती खेती लगाउने योजना छ। पाटीगाउँमा मात्रै यसवर्ष २ सय रोपनीमा कागती खेती विस्तार गर्ने योजना रहेको र त्यसका लागि ६ हजार बिरुवाको माग आइसकेको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रममा बिरुवा, मल, विषादीलगायत फल लागेपछि त्यसको हार्भेस्टिङका लागि पनि अनुदान दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell