गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत तीनवटा वडामा नेपाली कांग्रेसका उम्मेद्वार निर्विरोध वडाध्यक्ष भएका छन्।
अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन्। निर्विरोध भएपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ।
चुमनुब्री गाउँपालिकाको वडा नं १ सामागाउँको वडाध्यक्षमा कांग्रेसबाट वीरबहादुर लामा निर्विरोध भएका हुन्। गौरीशङ्कर निमाविको प्रधाध्यापक पदबाट राजीनामा दिई लामाले वडाध्यक्षका लागि उम्मेदवारी दिएका थिए।
त्यस्तै, चुमनुब्री गाउँपालिकाको वडा नं २ ल्होको वडाध्यक्षमा कांग्रेसका पेम्बा रितार निर्विरोध भएका छन् भने सोही गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेसकै सोनाम ग्याल्जेन लामा निर्विरोध भएका छन्।
सो गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट धनबहादुर गुरुङ, नेकपा एमालेबाट कान्छी गुरुङ, नेकपा माओवादी केन्द्रबाट लाक्पा डुन्डप लामा र नयाँ शक्ति नेपाल पार्टीबाट रिञ्जीन नोर्बु लामाको उम्मेदवारी परेको छ । दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा उम्मेदवारी दर्तासँगै चुनावी गतिविधि बढेको छ।रासस