भक्तपुरः स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवारहरुले भक्तपुरलाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
भक्तपुरको गठ्ठाघरमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपुरथिमी नगरपालिकामा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूलप्रवाहमा ल्याउने बताए।
मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने र मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरियामैत्री अस्पताललाई सुविधासम्पन्न एवम् यहाँका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने बताए। उनले मनोहरा हनुमन्ते खोला किनारमा करिडोर निर्माण गर्ने, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने, मध्यपुरलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, ढल, सडक र खानेपानीको पुहँचमा वृद्धि गर्ने योजना लिएर आफू निर्वाचनमा आएको बताए।
त्यस्तै, सूर्यविनायक नगरपालिकामा कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए।
त्यस्तै, चाँगुनारायण नगरपालिकाका प्रमुख पदमा कांग्रेसबाट उम्मेदवारी दिएका राजाराम खड्काले चाँगुनारायण नगरपालिका क्षेत्रको समग्र विकासका लागि यहाँको पर्यटन, खानेपानी तथा सडक विस्तारमा जोड दिइने प्रतिबद्धता जनाए।
उपत्यकामै पछाडि परेको भक्तपुरको– १ नम्बर क्षेत्रको समग्र विकासको लक्ष्य लिएर आफू चुनावी मैदानमा आएको पनि उनले बताए।
भक्तपुर नगरपालिकामा कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका राम कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताए।रासस