काठमाडौँः काठमाडौं जिल्लाका १० वटा नगरपालिकामा पाँचगुणा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन्।
दशवटा नगरपालिकामा ५५० जना निर्वाचित हुनपर्नेमा दुई हजार ६२४ जनाले उम्मेदवारी दिएका छन्। ती नगरपालिकामा नगरप्रमुखका लागि १३५ जनाले तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सबैभन्दा बढी चन्द्रागिरी नगरपालिकामा नगरप्रमुखका लागि १८ जना र उपप्रमुखका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। सो नगरपालिकामा ७७ जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा कुल ३९८ जनाले उम्मदवारी दर्ता गराएका छन्।
सबैभन्दा कम दक्षिणकाली नगरपालिकामा नगरप्रमुखमा १० जना तथा उपप्रमुखमा ६ जनाले उम्मेदवारी दिएका निर्वाचन अधिकृत प्रतीमा पोखरेलले जानकारी दिइन्। दक्षिणकालीमा १९९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, तारकेश्वरमा नगरप्रमुखका लागि १४ जना र उपप्रमुखका लागि नौ जनासहित कुल ३०७ जनाले उम्मेदवारी दिएका छन्। नागार्जुन नगरपालिकामा नगरप्रमुखका लागि १६ जना र उपप्रमुखका लागि छ जनासहित २६६ जनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।
यस्तै, शङ्खरापुरमा कुल ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०९ जनाले उम्मेदवारी दिएका छन्। नगरप्रमुख र उपप्रमुखमा १०/१० जनाले उम्मेदवारी दिएका छन् । गोकर्णेश्वरमा ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०७ जनाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकामा नगरप्रमुखका लागि १२ जना र उपप्रमुखका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कागेश्वरीमा ५७ पदाधिकारीका लागि कागेश्वरीमा ३०७ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, टोखामा ५७ जनप्रतिनिधि चयन हुनुपर्नेमा २६२ जना, कीर्तिपुरमा ५२ निर्वाचित हुनुपर्नेमा २६८ जना तथा बूढानीलकण्ठमा ६७ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा २९३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रासस