काठमाडौँ : देशकै राजधानी रहेको पहिलो महानगर काठमाडौँ महानगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि ८ सय ८७ जना उम्मेद्वार प्रतिष्पर्धामा उत्रिएका छन्।
मेयरमा १२ दलीय तथा १६ स्वतन्त्र उम्मेद्वार प्रतिष्पर्धामा उत्रिएका हुन् भने उपमेयरमा ६ दलीय तथा ७ स्वतन्त्र उम्मेद्वार प्रतिष्पर्धाम उत्रिएका हुन्। मेयरमा २८ तथा उपमेयरमा १३ जना प्रतिष्पर्धामा उत्रिएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत पुरुषोतम प्रसाद ढकालले जानकरी दिए। काठमाडौँमा कुनै पनि दावी विरोधको उजुरी नपरेको उनले बताए।
काठमाडौँका ३२ वटा वडामा ८ सय ४६ उम्मेद्वार प्रतिष्पर्धा गर्दैछन्। महानगरपालिकाले वडा अनुसार उम्मेद्वारको विवरण सार्वजनिक गरेको भएपनि वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यको विवरण अझै छुट्याउन सकेको छैन। ढकालले धेरै संख्यामा उम्मेद्वार भएकाले र उनीहरुको वर्गिकरणको काम जटिल रहेको बताए।
काठमाडौँको राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन कार्यालयले आजैदेखि कर्मचारीहलाई समेत कार्यक्षेत्र तोक्दै खटाएको छ। साथै उनीहरुको नियुक्ती पत्र समेत वितरण सुरु गरेको छ।
निर्वाचन कार्यालयले मतपत्र समेत केलाउन थालेको छ। 'कतै खाली छ कि? छपाई गलत भएको छ कि? हेर्ने काम भैरहेको छ', ढकालले भने, 'व्यवस्थापन जटिल छ १ महानगर सहित १० नगरपालिका छन्। सबैमा मतपत्र डेलिभरी गर्नुपर्ने छ, कर्मचारी अहोरात्र खटेर काम गरेका छन्।'