
काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव आज संसद् बैठकमा पेस हुँदैछ। संसद् सचिवालयले प्रस्ताव पेस गर्नेसम्वन्धी सम्वन्धित कार्यसूची प्रकाशन गरिसकेको छ। दिउँसो ३ बजे बस्ने बैठकमा प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले प्रस्तावको सूचना पेस गर्नेछन्।
प्रस्ताव पेसपछि सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि छलफलको मिति तोक्नेछिन्। संसद् सचिवालयले शुक्रबारदेखि नै प्रस्तावमा छलफल गर्ने तयारी गरेको छ।
प्रस्तावमा सैदान्तिक छलफलपछि अध्ययन र महाभियोगको आधार कारण पुष्टि हुने नहुँनेबारे छलफलका लागि महाभियोग सिफारिस समितिमा पठाइनेछ। समितिले बढीमा एक महिनामा छलफल गरी प्रतिवेदन पेस गर्नुपर्नेछ।
समितिले पेस गरेको प्रतिवेदनका आधारमा महाभियोगको आधार र कारणबारे संसदमा छलफल हुनेछ। छलफलपछि प्रतिवेदनमा मतदान हुनेछ। मतदानबाट प्रतिवेदनसहितको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएमा कार्की पदमुक्त हुनेछिन्। अन्यथा महाभियोग असफल हुनेछ।
वैशाख १७ गते नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसद्को हस्ताक्षरमा प्रधानन्यायाधीश कार्कीविरुद्ध प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएसँगै कार्की निलम्वनमा छिन्।
यस्तै, सचिवालयले शुक्रबार नै संविधान संशोधन विधेयक पारितको कार्यसूची पनि सम्भावित कार्यसूचीमा राखेको छ।