
इस्लामाबाद : पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ। आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ।
सैनिकद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबल माथि आक्रमणजस्ता आतङ्ककारी आक्रमणमा सलग्नता रहँदै आएको आरोपमा यी चार आतङ्ककारीलाई फाँसी दिइएको छ।
फाँसीका सजाय पाएका ती आतङ्ककारी प्रतिबन्धित समूह तेहरिक ए तालिवन पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ।
सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो। सैनिक विद्यालयमा भएको यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो ।
यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालत आतङ्ककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ। गत मार्चमा पाकिस्तानी संसद्ले थप दुई वर्षको लागि सो सैनिक अदातललाई अनुमोदन गरेको थियो। गत जनवरीमा नै यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो। रासस÷सिन्ह्वा