
पोखराः कास्कीमा महानगरसहित चार गाउँपालिकाको स्थानीय निर्वाचनमा उम्मेदवारको लर्को लागेको छ। विभिन्न पदमा आवश्यकभन्दा चार गुणा बढी आकांक्षीको उम्मेदवारी परेको छ। सबै राजनीति दल तथा स्वतन्त्रबाट उम्मेदवारका आकांक्षीहरुको लर्को नै लागेको हो।
कास्कीमा आवश्यक तीन सय ७० पदका लागि १५ सय ३२ जनाले उम्मेदवारी दिएको पश्चिमाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ। निर्वाचन कार्यलयका अनुसार पोखरा लेखनाथ महानगरपालिकाबाट ८ सय ६५ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये महानगरपालिकाको ३३ वटा वडामा १ सय ६७ जना मात्र निर्वाचित हुनेछन्। पोखराका लागि ३३ वडा अध्यक्षका लागि २ सय ७ जनाले उम्मेदवारी दिएका छन् भने १ सय ३२ सदस्यका लागि ६ सय ५७ जनाले उम्मेदवारी दिएका छन्। महानगरको मेयरमा १७ र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कास्कीका मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रुपा गाउँपालिकामा ६ सय ६९ जनाले उम्मेदवारी मनोनयन गराएका छन्। मादी गाउँपालिकामा अध्यक्षका लागि पाँच र उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ। मादी गाउँपालिकामा ५ वटा दल र स्वतन्त्र गरी १ सय ६९ जनाले उम्मेदवारी दिएका छन्। १२ वटा वडा रहेको मादीमा ६२ जना निर्वाचित हुनेछन्।
माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ। ९ वडा रहेको माछापुच्छ्रेमा अध्यक्ष, उपाध्यक्ष र सदस्यसहित ४७ जना निर्वाचित हुनेछन्। माछापुच्छ्रे्मा ७ दल र स्वतन्त्रसहित अध्यक्षमा ८, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ४०, महिला सदस्यमा ३३, दलित महिला सदस्यमा ३० र खुल्ला सदस्यमा ७२ गरी १ सय ८९ जनाको उम्मेदवारी परेको छ।
अन्नपूर्ण गाउँपालिकामा ७ जनाले अध्यक्ष र ५ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। अन्नपुर्ण गाउँपालिकामा ६ वटा राजनीतिक दलबाट वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा १ सय ९९ जनाले उम्मेदवारी दिएका छन्। ११ वडा रहेको अन्नपूर्णमा ५७ जना निर्वाचित हुनेछन्।
रुपा गाउँपालिकामा ७ जना अध्यक्ष र ४ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन्। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यसहित ७ राजनीतिक दलबाट १ सय १२ जनाको उम्मेदवारी परेको छ।
कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता छन्।