काठमाडौं : ट्राफिक प्रहरी महाशाखाले रत्नपार्कमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ।
सचेतना कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो। बाटो कसरी काट्ने, किन जेब्रा क्रसिङको प्रयोग गर्ने र आकाशे पुलको प्रयोग गरेर सुरक्षित हुनेजस्ता विषयमा कलाकारहरुले सडक नाटक देखाएका थिए।
कार्यक्रममा हास्यकलाकार किरण केसीले आफूले सधैँ ट्राफिक नियमको पालना गर्ने बताउँदै सबैलार्इ नियम पालना गर्न आग्रहसमेत गरे। कार्यक्रमलार्इ चलचित्र संघ, म्युजिक भिडियो कलाकार संघ, विभिन्न नृत्य क्लबहरु तथा विभिन्न कलाकार संघहरुले समेत ऐक्यबद्धता जनाए।
अहिले काठमाडौँमा नो हर्न अभियान ८० प्रतिशत कार्यान्वयनमा आएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। पैदल यात्रीले बाटो जथाभावी काटेको र सवारीका लागि बाटो नछोडको गुनासो आएपछि यात्रु सचेतना कार्यक्रम गत शुक्रबारबाट सुरु गरिएको महाशाखाका इन्स्पेक्टर बालकृष्ण पोखरेलले बताए। उनले नो हर्न अभियानले सडक दुर्घटनामा कमी आएको दाबीसमेत गरे।
यातायात व्यवसायी, मजदूर विभिन्न गैरसरकारी संस्था आदिको सहयोगमा चुनाव अघिसम्म सचेतना कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
महाशाखाले यसअघि पनि स्काउट, विभिन्न कलेजका विद्यार्थीहरुको सहयोगमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
ट्राफिक प्रहरीले गरेको एक अध्ययनले ४० प्रतिशत दुर्घटनाको कारण जथाभावी बाटो काट्ने, जेब्रा क्रसिङ, आकाशे पुलको प्रयोग नगर्ने जस्ता कारणले हुने गरेको देखाएको छ। साथै सडक दुर्घटनामा ४० प्रतिशत पैदल यात्रुको मृत्यु हुने गरेको पनि अध्ययनले देखाएको छ।
सवारी तथा यातायात ऐनको दफा १सय ३६र ३७मा जथाभावी बाटो काट्ने पैदल यात्रुलार्इ जरिवाना तथा कारबाही गर्ने व्यवस्था छ।
जेठ १ गतेदेखि जथाभावी बाटो काट्ने ट्राफिक नियमको उल्लङ्घन गर्ने पैदल यात्रुलार्इ २ सय रुपैयाँ जरिवाना तथा थुनामा राखिने महाशाखाले जनाएको छ। साथै जेब्रा क्रसिङमा यात्रुलाई प्राथमिकता नदिने सवारीलार्इ समेत कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।