PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भोलिदेखि वासिङ्टन डीसीमा सुरु हुँदै



पहिलोपोस्ट

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भोलिदेखि वासिङ्टन डीसीमा सुरु हुँदै

काठमाठौं : भोलि शुक्रबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डीसीमा नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु हुँदैछ।

महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनाइएका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छन् भने अन्तर्राट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रहरु देखाइने छन्।

दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’बाट उद्घाटन हुने महोत्सवको समापन मिन भाम निर्देशित 'कालो पोथी'बाट गरिने छ। 

विभिन्न समयका उत्कृष्ट नेपाली फिल्महरु नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ लुकिङ ब्याक नेपाल सेक्सन अन्तर्गत देखाइन लागेको महोत्सवका निर्देशक पूर्ण सिंह बराइलीले बताए।

नेपाली पानोरामामा राजन कठैतको ‘शेरडाक’, सूवर्ण थापाको ‘सुनगाभा’, देवकी विष्टको ‘इन सर्च अफ देवकी’, अम्बिका जोशीको ‘टासिज टरबाइन’, गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ र किरण मरहट्टाको ‘जर्नी टु वार्सा’ प्रदर्शन गरिने छ। 

अन्तर्राष्ट्रिय सिनेमा अन्तर्गत सुसन ग्लोथको 'उर्मिला', एण्डी कोकरुमको ‘शेर्पा स्टु’, जशवन्तदेव श्रेष्ठको ‘मुस्ताङ’, डोरिया ब्रामान्टे र मार्कस वेनफरदरको ‘द रेफुजी अफ साग्रिला’ प्रदर्शन गरिने छ।

त्यस्तै छोटा चलचित्र अन्तर्गत विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, सुसन प्रजापतिको ‘लाज’, सन स्मलको ‘एकर्स अफ डायमण्ड’, राजेन्द्र ठकुराठीको ‘माई क्ल्याइरे’ प्रदर्शन हुनेछ। ग्लोब पिस फिल्म फेस्टिबलको सहयोगमा ‘द डिर्पोटेसन अफ इनोसेन्स’ र ‘एक सूर्य के तले’ प्रदर्शन गरिने छ।

अमेरिकामा रहेका नेपाली समुदाय तथा विभिन्न चलचित्रसँग सम्बन्धित संघ संस्थाको सहयोगमा हुन लागेको चलचित्र महोत्सवमा नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक नवीन सुब्बा जुरी प्रमुखका रुपमा सहभागी हुनेछन् भने अन्य जुरी सदस्यमा ग्लोबल पीस फिल्म फेस्टिभलकी नीना स्ट्रिच र इरानका निर्देशक फ्रेड बोजोर्गमेहर रहने छन्।

महोत्वस निर्देशक बराईलीका अनुसार महोत्सवमा नेपाली सिनेमा र अमेरिकी नेपाली डायस्फोरा विषयक अन्तर्कृया कार्यक्रम पनि आयोजना गरिनेछ।

तीन दिनसम्म चल्ने महोत्सवमा नेपालबाट मीनबहादुर भाम, दीपक रौनियार लगायत निर्देशकहरु समेत सहभागी हुने छन्। महोत्वसको नेपाल संयोजन मानव अधिकार चलचित्र केन्द्रले गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell