राजेन्द्र आचार्य
चितवन: तीन महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेललाई चितवनका नेताहरुले विरोध गरेका छन्। दुई पार्टीबीच सहमति भएको खबर बाहिर आएको केही समयमा नै भरतपुरमा कांग्रेस कार्यकर्ताहरुले विरोध प्रर्दशन सुरु गरेका छन्। केन्द्रको निर्णयप्रति रुष्ट भएका कांग्रेस कार्यकर्ताले नारावाजीसहित पार्टी साभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन्। उनीहरुले केन्द्रको निर्णय नमान्ने चेतावनी दिएका छन्।
नेतृत्वले गरेको तालमेललाई चितवनका पूर्वजिल्ला सभापति टेकबहादुर गुरुङले पार्टी सिध्याउने काम भएको प्रतिकृया दिएका छन्। उनले पहिलोपोष्टसँगको कुराकानीमा भने ‘सम्पूर्ण कांग्रेस कार्यकर्तालाई बली चढाउने काम भएको छ।’ गुरुङले तत्काल पार्टीले निर्णय फिर्ता लिनुपर्ने बताए।
दुई पार्टीबीच भएको सहमति अनुसार भरतपुरमा मेयरका लागि माओवादी केन्द्रलाई सहयोग गर्ने र काठमाडौं र पोखरामा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने सहमति भएको छ। भरतपुरको मेयरका लागि कांग्रेसबाट दिनेश कोइरालाले उम्मेदवारी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री केन्द्रबाट मेयरकी उम्मेदवार छिन्। कांग्रेसका उम्मेदवार कोइराला भने कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नदिने बताइरहेका छन्।