
राजेन्द्र आचार्य/पहिलोपोस्ट
भरतपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरापलालिकामा प्रचण्ड पुत्री रेणु दाहालका लागि आफ्नो पार्टीका उम्मेद्वार दिनेश कोइरालालाई 'कु' गरेका छन्।
प्रचण्ड पुत्री रेणु भरतपुर महानगरमा माओवादी केन्द्रको तर्फबाट मेयर पदका लागि उम्मेद्वार छिन्।
नेपाली कांग्रेसले मंगलबार मेयर पदका लागि दिनेश कोइरालाको उम्मेद्वारी दिएको थियो। तर बिहीबार नेकपा माओवादी केन्द्रसँग केन्द्रीय स्तरमै तालमेलको समझदारी भएपछि उम्मेद्वारी फिर्ता लिनका लागि दिनेशलाई देउवाले निर्देशन दिएका थिए। तर दिनेशले देउवाको निर्देशन अटेर गरेक थिए। लगत्तै कांग्रेसका स्थानीय कार्यकर्ताले विरोध प्रदर्शनसमेत गरेका थिए।
दिनेशले उम्मेद्वारी फिर्ता लिन नमानेपछि देउवाले केन्द्रबाटै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पत्र फ्याक्स गर्दै दिनेशलाई 'कु' गरेका हुन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच समझदारी भए बमोजिम भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रको श्री रेणु दाहाललाई नेपाली कांग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी पार्वती शाहलाई नेकपा माओवादी केन्द्रले समर्थन गरी निर्वाचनमा तालमेल गर्ने निर्णय भएको हुँदा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १८ र २३ को उपदफा ५ बमोजिम पार्टीको तर्फबाट भरतपुर महानगरको उम्मेद्वारी फिर्ता लिने निर्णय गरिएकोले सोही अनुसार कार्यन्वयन गराउनु हुन।
पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँले हस्ताक्षर गरेका छन्।
दिनेशलाइ कांग्रेस कार्यकर्ताहरुले चितवनको जिल्ला पार्टी कार्यलयबाट निर्वाचन अधिकृतको कार्यालय जानबाट रोकेका थिए। दिनेशले पनि पाँच बजेसम्म आफूले उम्मेद्वारी फिर्ता नलिएको पहिलोपोस्टलाई बताए। तर केन्द्रीय कार्यालयको पत्रबाट दिनेश 'कु' मा परेका छन्।
नेकपा माओवादी केन्द्रले भने उपमेयर पदबाट आफ्नो उम्मेद्वारी फिर्ता लिएको छ। उपमेयरमा उम्मेद्वारी दिएका माओवादी केन्द्रका सुरेन्द्र गुरुङले उम्मेद्वारी फिर्ता लिएका हुन्।

किन 'कु' मा परे दिनेश?
भरतपुर क्षेत्रलाई प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक सेल्टर बनाउन खोजिरहेका छन्। प्रचण्डले सरकारबाट ठूलो रकमसमेत रकमान्तर गर्दै भरतपुरमा खर्चिएका छन्।
आफ्नो पुत्री रेणुलाई भरतपुरमा विजयी गराउन सके भविष्यमा राजनीतिक सेल्टर बलियो हुने बुझाई प्रचण्डको छ। यता कांग्रेस सभापति शेरबहादुर देउवा भने प्रचण्डबाट सत्ता हस्तान्तरण सहज हुने विश्वासका साथ प्रचण्ड पुत्रीलाई सहयोग गर्न तयार देखिएका हुन्।

सम्बन्धित समाचार : चितवनमा राजनीतिक ‘सेल्टर’ बनाउँदै प्रचण्ड
चितवनको भरतपुरमा कांग्रेस बलियो छ भने माओवादी केन्द्र कमजोर छ। यसअघि काठमाडौँ क्षेत्र नं १ मा कांग्रेसका प्रकाशमानसिंहसँग पराजित भएकी रेणु भरतपुर महानगरमा उम्मेद्वार बनेकी छिन्।
अब रेणुको प्रतिष्पर्धा एमालेका उम्मेद्वार देवी ज्ञवालीसँग हुनेछ।
कांग्रेस र माओवादी केन्द्रबीच बिहीबार नै चार महानगर काठमाडौँ, ललितपुर, पोखरा र भरतपुरमा तालमेल गर्ने समझदारी भएको थियो। काठमाडौँमा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीलाई समर्थन गर्ने भएको छ।
नेकपा एमाले र राप्रपाले काठमाडौँमा चुनावी तालेमले गरेपछि कांग्रेस र माओवादीले पनि तालमेल गरेका हुन्।
सम्बन्धित समाचार
माओवादीसँग भएको तालमेलप्रति चितवनका कांग्रेस कार्यकर्ता रुष्ट, केन्द्रको निर्णय नमान्ने
प्रचण्डपुत्रीका लागि म उम्मेदवारी फिर्ता लिन्नँ : दिनेश कोइराला, कांग्रेस उम्मेदवार
भरतपुरलाई वैकल्पिक राजधानी बनाउने प्रचण्डपुत्री रेणुको घोषणापत्र यस्तो छ