PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

राजीनामापछि गृहमन्त्रालय फर्किएका निधिलाई जनकपुरमा भव्य स्वागत



पहिलोपोस्ट

राजीनामापछि गृहमन्त्रालय फर्किएका निधिलाई जनकपुरमा भव्य स्वागत

काठमाडौं : उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएर पाँच दिनपछि पुरानै जिम्मेवारीमा फर्किएका बिमलेन्द्र निधिलाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ। 

गृहमन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन गृहजिल्लाको जनकपुरधाममा जानकी नवमी महोत्सवको उद्घाटन गर्न पुगेका निधिलाई जनकपुर विमानस्थलदेखि नै मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका हुन्।

निधिको स्वागतका लागि प्रदेश नम्बर दुईका ८ जिल्ला मध्ये ६ जिल्लाका कांग्रेस सभापतिसमेत विमानस्थल पुगेका थिए।

जानकी नवमी पर्वको महोत्सवमा सहभागी हुन भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आएका छन्। 

मोटरसाइकल र्‍यालीसहित विमानस्थलबाट कार्यक्रमस्थल पुगेका निधिलाई स्वागत गर्न हजारौँको संख्यामा रहेका स्थानीयले मालाले ढाकिने गरी स्वागत गरेका थिए।
 
गत आइतबार प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रस्तावबारे पार्टी र प्रधानमन्त्रीले आफूलाई जानकारी नदिएको भन्दै असन्तुष्टी जनाउँदै  राजीनामा दिएका निधि सभापति देउवा र प्रधानमन्त्रीको आग्रहपछि आजैदेखि मन्त्रालय फर्किएका हुन्।

निधिले संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचनका लागि आफू मन्त्रालयको जिम्मेवारीमा फर्किएको प्रतिक्रिया दिएका छन्।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको र त्यसका लागि आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सुरक्षाको जिम्मेवारीबाट नहट्न आग्रह गरेका कारण पुरानै जिम्मेवारीमा फर्किएको प्रतिक्रिया दिए। 

आफूले राजीनामा दिएपछि कांग्रेका देशभरका नेता कार्यकर्ता तथा मधेस केन्द्रित दलका नेताहरुले समेत ऐक्यबद्धता जनाएको भन्दै मुलुकको राजनीतिक स्थायित्वका लागि आफू सधैँ लागि पर्ने बताए।
 
संसद्‍मा पेश भएको संविधान संशोधन पारित भएपछि राजनीतिक स्थिरता कायम हुने उनको तर्क थियो। गृहजिल्ला पुगेका निधि आज जनकपुरमै बसेर भोलि मात्र काठमाडौं फर्किने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell