PahiloPost

May 18, 2025 | ५ जेठ २०८२

वैशाख ३१ मा निर्वाचन, मतगणना कहिले? यस्तो छ निर्वाचन आयोगको जवाफ



पहिलोपोस्ट

वैशाख ३१ मा निर्वाचन, मतगणना कहिले? यस्तो छ निर्वाचन आयोगको जवाफ

काठमाडौँ : निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असहमतिका बाबजूद वैशाख ३१ गतेको निर्वाचन लगत्तै मतगणनाको गर्ने तयारी गरेको छ। 

नेकपा एमालेले जेठ ३१ मा तय भएको दोश्रो चरणको निर्वाचनअघि मतगणना गर्दा दोश्रो चरणको निर्वाचन प्रभावित हुने भन्दै विरोध जनाउँदै आएको छ। 

बिहीबार निर्वाचन आयोग पुगेर एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मतगणनाको विषयमा ध्यानाकर्षण गराएका छन्। 
'दोश्रो चरणको निर्वाचन प्रारम्भ हुनुअगावै मतगणनाको परिणाम प्रकाशन गर्ने कुराले निर्वाचनको स्वच्छता, मान्यता एवम् निष्पक्षतामा आघात पुर्‍याउँछ', नेम्वाङले आयोगका आयुक्तहरुसँग भनेका छन्, 'बीचमा मतगणना गर्ने कार्य गर्नु हुदैँन।'

बिहीबार बिहान एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको भेटमा पनि मतगणनाको विषय उठाएको थियो। 

बैठकपछि श्रेष्ठले– मतगणना के गर्ने भन्ने विषयमा कुराकानी भएको उल्लेख गरे। 

फोटो : रासस

तर निर्वाचन आयोगले भने मतगणनाको अधिकार निर्वाचन अधिकृतहरुलाई भएको भन्दै मतगणना तत्कालै हुने गरी घुमाउरो शैलीमा एमालेलाई जवाफ दिएको छ। 

'निर्वाचन ऐनमा मतदान केन्द्रबाट मतपेटिका आएपछि निर्वाचन अधिकृतले सूचना निकालेर मतगणना गर्ने दिन तोक्नुपर्नेछ भनेको छ। अब मतपटेका आइसकेपछि त गणना गर्नुपर्यो', निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, 'कानुनको व्यवस्था त्यही हो। हामीले थाहा पाउने कुरा यत्ति हो।'

त्यसो त निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको अन्तिममा मतगणनाबारे उल्लेख छ। 


आयोगले तयार गरेको आन्तरिक कार्यतालिकामा पनि जेठ २ गतेसम्ममा मतगणना गरिसक्ने उल्लेख छ। निर्वाचन आयोगले कर्मचारी खटाउँदा समेत मतगणनासम्मका लागि खटाएका कारण आयोग तत्काल मतगणना गर्ने तयारी गरेको छ। 

त्यसो त मनोनयन दर्तासँगै केही स्थानीय तहमा उम्मेद्वारहरु निर्विरोध चयन भैसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell