- आकाश क्षेत्री
काठमाडौं : रुख, सूर्य, हसिया-हतौडा, गार्इ आदि चित्र अंकित झण्डाहरु लहरै लाम लागेर फर्फरार्इ रहेका छन्। झण्डाको तलतिर त्यस्तै चित्र छापिएका टिसर्टको चाङ लगाइएको छ।
एकथरिले झण्डाको मूल्यबारे व्याख्या गरिरहेका छन्, जो व्यापारी हुन्। अर्काथरिले झण्डाको मूल्यबारे बार्गेनिङ गरिरहेका छन्, जो व्यापारी होइनन् राजनीतिक दलका प्रतिनिधि हुन्।
यो बागबजारको एक दृष्य हो जहाँ चुनावका लागि झण्डा, चुनाव चिन्ह अंकित टिसर्टलगायतका सामग्री बनाइन्छ।
३१ वैशाखमा हुने स्थानीय तहको चुनाव प्रचार-प्रसारका लागि विभिन्न दल आफ्नो पार्टी चिनाउने सामग्री बनाउनमा लागेका छन्। विगतमा जस्तै चुनावको बेला प्रचारका सामग्री बनाउने केन्द्रको रुपमा यो चुनावमा पनि बागबजारलार्इ लिँदै आएका छन्।
असहमतिको खिचातानीमा माहिर राजनीतिक दलहरु चुनावका लागि प्रचार-प्रसार सामग्री बनाउनको लागि भने एकजुट भएको एक व्यापारी अरुण थापा बताउँछन्।
अघिल्ला चुनावहरु भन्दा यो चुनाव कम छापाको व्यापार भएको व्यापारीहरुको भनाइ छ।
दिनमा ५०० टिसर्ट बनाउँदै एमाले
बागबजारस्थित एक छापाखानाका सञ्चालक प्रेम गुरुङले एमालेको टिसर्ट बनाउन थालेको २ दिन भयो। गुरुङले एकदिनमा एमालेका मात्र ५ सय टिसर्ट तयार गरिरहेको बताए।
गुरुङका अनुसार चुनाव प्रचार प्रसारका लागि एमालेका लागि उनले तयार पारेका टिसर्ट र झण्डा देशै भरमा पुग्छन्।
एउट टिसर्ट १ सय ८०, सानो झण्डा २५ र ठूलो बताउन ५० रुपैयाँ लागत लाग्ने व्यापारी बताउछँन्।
प्रसार सामग्रीको मूल्य कमिसनले बढायो
हरेक प्रचार-प्रसार सामग्री बनाउनमा लाग्ने लागत अघिल्लो चुनावको तुलनामा दोब्बर लागेको कार्यकर्ता बताउँछन्।
तर, व्यवसायीहरुले भने राजनीतिक पार्टीका कार्यकर्ताले खाने कमिसनका कारण मूल्य बढेको बताउँछन्।
छापाइ व्यवसायी रमेश श्रेष्ठका अनुसार पार्टीका झण्डा छपाउन आउने कार्यकर्ता समेतले कमिसन माग्ने गरेका छन्।