
काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेद्वारको अन्तिम नामावली आज प्रकाशन गर्दैछ। ३४ जिल्लाका २८३ स्थानीय तहमा गत मंगलबार भएको मनोनयनको अन्तिम नामावली बिहान ११ गतेभित्र प्रकाशन हुँदैछ।
सम्वन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा गाउँपालिका र नगरपालिकाका केन्द्रहरुमा उम्मेद्वारको नामावली प्रकाशन हुँदैछ।
३४ जिल्लामा पहिलो चरणमा छनोट हुने १३ हनार पाँच सय ५६ पदका लागि झण्डै तीन दोब्बर उम्मेद्वारी परेको छ। तर, यकिन तथ्याङ्क आज मात्र प्रकाशन हुनेछ। प्रारम्भिक तथ्याङ्क अनुसार ४९ हजार दुई सय ७ उम्मेद्वारले मनोनयन दर्ता गरेका छन्। राजनीतिक दलहरुको तालमेलका कारण कतिपय उम्मेद््वारको नामावली फिर्ता भएको छ।
चुनाव चिन्ह वितरण आज
यस्तै आयोगले प्रकाशन गरेको कार्यतालिका अनुसार उम्मेद्वारले चुनावी चिन्ह पनि आज नै पाउँदैछन्। संसदमा प्रतिनिधित्व गर्ने दलहरुले दलीय रोलक्रम अनुसार पार्टीकै चुनाव चिन्ह पाउनेछन्। अन्य दल र उम्मेद्वारले स्वतन्त्र हैसियतमा चिन्ह पाउनेछन्। सम्वन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालय र गाउँपालिका तथा नगरपालिकाको केन्द्रबाट चिन्ह वितरण हुनेछ।
आयोगले मनोनयन गरेका उम्मेद्वारलाई नाम फिर्ता लिनका लागि बिहीबार साँझ ५ बजेसम्मको समय दिएको थियो।