
गोरखा : आसन्न स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको दृष्टिले अतिसंवेदनशील आँकलन गरिएका गोरखाका विभिन्न मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ।
मतदानस्थलका दोस्रो र तेस्रो घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। सुरक्षा समितिले गोरखाका ६८ वटा निर्वाचनस्थललाई अतिसंवेदनशील क्षेत्र पहिचान गरिसकेको छ। सो क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। निर्वाचनस्थलमा परिचालन हुनका लागि ६८ जना नयाँ प्रहरी निरीक्षक जिल्ला भित्रिसकेका छन्।
अधिकांश निर्वाचनस्थल तथा केन्द्र विद्यालय परिसरमा रहनेछन्। गोरखा नगरपालिकाको रामशाह मावि, राजदेवी प्रावि, महालक्ष्मी प्रावि, पालुङटार नगरपालिकाअन्तर्गत रहेका विभिन्न २३ निर्वाचनस्थल, गण्डकी गाउँपालिकाका सात, भीमसेन गाउँपालिकाका सात, सुलिकोट गाउँपालिकाका तीन, अजिरकोट गाउँपालिकाका पाँच, सहिद लखन गाउँपालिकाका पाँच र सिरानचोक गाउँपालिकाका १५ निर्वाचनस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील रहेको बताइएको छ।
गोरखामा रहेका दुईसय १३ निर्वाचनस्थलमध्ये एकसय १३ मतदानस्थल अतिसंवेदनशील पहिचान गरिएको छ भने १२ निर्वाचनस्थल सामान्य प्रकृतिमा राखिएका छन्। दुई फरक सिद्धान्त बोकेका पार्टीमा आस्थावान् नेता, कार्यकर्ताबीच हुनसक्ने झडप, सम्भावित आपराधिक क्रियाकलाप र विगतका निर्वाचनमा भए /गरेका राजनीतिक विवादका कारणले हुने झडपलाई आधार मानेर निर्वाचनस्थललाई अतिसंवेदनशील र सामान्यमा वर्गीकरण गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
निर्वाचनमा सुरक्षा दिनका लागि गोरखामा थप ६ सय २७ प्रहरी ल्याइएको छ । यीमध्ये ६८ जना प्रहरी निरीक्षक हुन्। गोरखामा एकहजार चारसय २६ जना म्यादी प्रहरी परिचालन गरिएको छ। म्यादी प्रहरी तोकिएको स्थानतर्फ गइसकेका छन्। एउटा मतदान केन्द्रमा प्रहरीसँगै कम्तीमा चार म्यादी प्रहरी परिचालन हुनेछन्।
दुई नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एकलाख ६९ हजार ४३ जना मतदाता रहेका छन्। सहरी क्षेत्रमा बसोबास गर्दै आएका मतदाता यही वैशाख ३१ गते हुने निर्वाचनका लागि गाउँ फर्कने क्रम बढेपछि गाउँघरमा चहलपहल छाएको छ। रासस